News

बालाजुमा प्रहरीका दुई वटा भ्यान जलाईयो, अवस्था तनावग्रस्त

बालाजुमा प्रहरीका दुई वटा भ्यान जलाईयो, अवस्था तनावग्रस्त

यातायात मजदुरले प्रहरीको दुई वटा भ्यान जलाएपछि बालाजु क्षेत्र तनावग्रस्त बनेको छ। ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको हो ।

आन्दोलनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । मुल सडकमै प्रहरीको दुई वटा भ्यानमा आगलागी हुँदा घटनास्थलमा प्रहरी भने देखिएका छैनन् ।

सोमबार बालाजु, माछापोखरी, गोंगबु र सामाखुसी चोकमा उनीहरुको सडक अवद्ध गरेका थिए । उनीहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।

नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएका थिए। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो। तर त्यसक्रममा आफूहरूमाथि हातपात समेत भएको राईले बताए।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप थियो। ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिएका थिए। 

आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ।
 

विशेष