News

टर्कीका भुकम्प पीडितका लागि नेपालले पठायो २२ टनभन्दा धेरै राहत सामग्री

टर्कीका भुकम्प पीडितका लागि नेपालले पठायो २२ टनभन्दा धेरै राहत सामग्री

नेपालले टर्कीका भुकम्प पीडितका लागि राहत सामग्री पठाएको छ। शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई नेपाल सरकारले २२ टनभन्दा धेरै राहत सामग्री पठाएको हो। 

परराष्ट्र मन्त्रालयले सोमबार एक वक्तव्य निकालेर २२ टनभन्दा धेरै राहतको पहिलो खेप जहाजबाट पठाइएको जानकारी दिएको छ। राहत सामग्रीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट पठाईएको हो।

राहत सामग्रीमा औषधि, स्वास्थ्य उपकरण, न्याना कपडासहित अत्यावश्यकीय सामग्री छन्। टर्कीमा अहिले कडा जाडो रहेकाले भूकम्पप्रभावितलाई न्यानो कपडा पठाइएको हो। 

शक्त्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा अहिलेसम्म करिब ३५ हजार मानिसको ज्यान गइसकेको छ। त्यस्तै ९० हजारभन्दा धेरै घाइते भएका छन्। 

टर्की र सिरियामा गत ६ फेब्रुअरीमा शक्तिशाली भुकम्प गएको थियो। भूकम्पपछि गत माघ २५ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।

नेपाली सेना पनि उद्वारका लागि जान स्टेन्डबाइ छ। तर सेनालाई उद्वारका लागि पठाउनेबारेमा सरकारले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। यसअघि परराष्ट्र मन्त्री विमला राई पौड्यालले भूकम्पलगत्तै टर्कीस्थित समकक्षी मेभ्लुट काभ्युसोग्लुसँग टेलिफोन संवाद गरेकी थिइन्।
 

विशेष