News

लोत्से मलमा मोवाईल लुटपाट गर्ने चार जनाको परिचय प्रहरीले लुकायो

लोत्से मलमा मोवाईल लुटपाट गर्ने चार जनाको परिचय प्रहरीले लुकायो

यातायात मजदुरको आन्दोलनका आडमा गोंगबुमा मोवाईल लुटपाट गर्नेमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार भएको आन्दोलनका क्रममा ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । घटनामा अरु मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

काठमाडौं प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसीले लुटपाट आशंकामा केही मानिस पक्राउ परेको र उनीहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको बताए । घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकोले अरु मानिसको पनि संलग्नता हुनसक्ने भएर पक्राउ परेका मानिस सार्वजनिक नगरिएको उनले बताए ।

प्रदर्शनका क्रममा हिंसा भड्काएर लुटपाट र आगजनीमा संलग्नको खोजीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी र महाराजगञ्ज प्रहरीको टोली खटिएको छ । प्रहरीले घटनास्थलका सीसीटीभीका फुटेजहरू पनि संकलन गरिसकेको छ । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका भनाइ, प्रहरीसँग आएका अन्य तथ्य र प्रमाणका आधारमा अपराधमा संलग्नको खोजीकार्य जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए ।

पक्राउ परेका मानिसमाथि सोधपुछ भइरहेकाले उनीहरूलाई सार्वजनिक नगरिएको एसएसपी केसीको भनाइ छ । घटनाको भोलीपल्ट मंगलबार गृहसचिव विनोदप्रकाश सिंहले काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दिवेश लोहनीलाई बोलाएर घटनाबारे जानकारी लिनुका साथै लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ ।

सोमबार जरिवानाबापतको रकम घटाउनु पर्ने र पाँच पटक ट्राफिक कारबाहीमा परे सवारी चालक अनुमति पत्र रद्द हुनसक्ने प्रावधान खारेजीको मागसहित सार्वजनिक यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएको मौका छोपेर लुटपाट मच्याइएको थियो।

प्रहरी वृत्त, बालाजुको दुई वटा गाडी पनि तोडफोड भएको थियो । घटनालाई लिएर बालाजुका डीएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएका छन् । 
 

विशेष