News

श्रीमानको हत्या स्विकारेकी ओईरालाई सर्वोच्चले दियो सफाई !

श्रीमानको हत्या स्विकारेकी ओईरालाई सर्वोच्चले दियो सफाई !

आफनै श्रीमानको हत्या गरेको स्विकारेकी एक महिलालाई सर्वोच्च अदालतले सफाई दिएको छ। प्रहरी समक्ष श्रीमान हंशबहादुर राईको हत्या गरेको स्वीकार गरेकी ऐश्वर्य भनिने ओइसरा राईलाई अदालतले सफाई दिएको हो। 

मोरङको साविक पाटी गाविस–१ का हंशबहादुर राई ०७३ पुस १३ गते आफनै घरमा मृत भेटिएका थिए। कान काटिएको, टाउकाको पछाडिको भागमा ठूलो चोट लागेको, गिदी निस्किएको र रगत लतपतिएको अवस्थामा उनको शव भेटिएको थियो। शवकै छेउमा रगत र कपाल लागेको बन्चरो समेत भेटिएको थियो।

बन्द कोठाभित्र मृत श्रीमानसँगै श्रीमती ओइसरा समेत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। उनले श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन्। अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेकी ओइसरालाई स्वास्थ्य अवस्था ठिक नभएको भन्दै पुस २२ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान भर्ना गरिएको थियो। उनी फागुन ३ गते मात्रै डिस्चार्ज भएपछि फेरी नियन्त्रणमा लिईएको थियो।

‘रिस उठेपछि बन्चरोले ठाउकोमा हानेर ऊसँगै म सुतेको हुँ। रक्सीको कारण निदाएछु। उसको मृत्यु मैले थाहा पाइनँ। बिहानमात्रै गाउँलेहरु आएर ढोका खोलेर हेर्दा श्रीमानको मृत्यु भएको थाहा पाएको हुँ,’ ओइसराले प्रहरी समक्ष बयान दिएकी थिइन्।

जिल्ला अदालत मोरङका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले २०७३ चैत २७ गते जन्मकैद हुने ठहर गर्दै उनलाई १२ वर्ष सजाय हुने फैसला सुनाइएको थियो। आफू बिरामी भएको र श्रीमानलाई कुटेको समेत थाहा नभएकाले सफाइ पाउनुपर्ने माग गर्दै जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगेकी थिइन्। 

उच्चले ०७४ फागुन २२ गते फैसला गर्दा जिल्लाकै फैसला सदर हुने ठहर गर्दै पतिलाई मार्नुपर्ने कुनै रिसिइबी नदेखिएको, पूर्वयोजना नदेखिए पनि ओइसराले नै हत्या गरेको ठहर गरेको थियो। श्रीमान–श्रीमतीबीच झैझगडा भएको, हत्या भएको बेला मदिरा पिएको र रिसको आवेगमा नजिकै रहेको बन्चरो प्रहार गरेर हत्या गरेकोले सर्वश्वसहित जन्मकैदको फैसला गर्दा महँगो पर्न जाने भन्दै जिल्लाको फैसलाभन्दा ४ वर्ष कम ८ वर्ष कैद हुने फैसला उच्चले गरेको थियो। 

उक्त फैसलाविरुद्ध पनि ओइसरा सर्वोच्च अदालत पुगेकी थिइन्। तर सर्वोच्च अदालतले भने दुई तहको अदालतले दोषी ठहर गर्दै गरेको फैसला उल्ट्याउँदै आइसोरालाई निर्दोष ठहर गर्दै जेलमुक्त हुने फैसला गरेको छ।

२०७९ असार २५ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासले आइसोरालाई निर्दोष ठहर गर्दै जेलमुक्त गराएको हो। ओइसराको मानसिक अवस्था ठिक नरहेकाले उनलाई उन्मुक्ति दिइएको खुलाइएको छ। स्वास्थ्य रिपोर्ट अनुसार ओइसराको मानसिक स्वास्थ्य ठिक नभएको पाइएको थियो। श्रीमानको हत्यापछि पनि लाससँगै निदाउनु, कुनै होसमा नहुनु र स्वास्थ्य जाँचबाट समेत उनी मानसिक रोगी भएको प्रमाणित भएको थियो। 

मुलुकी ऐन दण्ड सजाय महलको १ नम्बरमा ‘कानुन बमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नेपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतबात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन’ भनी उल्लेख गरिएको छ। 

विशेष