News

चिनले मिटर ब्याजमा बनाएको पोखरा बिमानस्थलमा दिउँसो चरा र राति स्यालको रजाई

चिनले मिटर ब्याजमा बनाएको पोखरा बिमानस्थलमा दिउँसो चरा र राति स्यालको रजाई

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भर्खर मात्रै सञ्चालमा आएको छ। विमानस्थलको पूर्व र दक्षिण दुवैतर्फ खोला छन् । पुर्वको विजयपुर र दक्षिणको सेतीनदी दुवै दुर्गन्धित छन्। मरेका गाइबस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहर, बंगुरको फोहर खोलामै फ्याकिन्छ। जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्।

सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चूनौती’ बन्दै गएको छ। केहीदिन अघि त अवतरणको क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो। विमानस्थलको धावनमार्गको मुखैमा चराको बथान नै उड्ने गरेको छ। 

फोहरका कारण हुने जोखिम बाहेक विमानस्थल क्षेत्रको झाडिका कारण स्यालको जोखिम पनि उत्तिकै छ। विमानस्थल संचालनमा आउनुभन्दा पहिले नै त्यस क्षेत्रमा स्यालको समस्या रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई समेत जानकारी गराइएको थियो। स्याल लुक्न नदिन झाडि सफा गर्न सुझाइएको भएपनि सुनुवाई भएको छैन।

धावनमार्गतिर स्याल दौड्दा जहाजसँग ठोक्किने हो की भन्ने त्रास छ। त्यसबाहेक त्यही क्षेत्रमा अहिले पनि गिद्धको बासस्थान छ। विमानस्थल निर्माण गरेर संचालनमा ल्याइसक्दा पनि जोखिमलाई कम गर्नका लागि खासै पहल भएको छैन।

यो विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार ‘फोर डी मोडल’ मा बनेको छ। १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ए ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्नसक्ने यो विमानस्थलबाट हङकङ, दिल्ली, दोहा र थाइल्यान्डमा सीधा उडान गर्ने जनाईएको थियो।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

२०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भएर पोखरा विमानस्थलको काम अघि वढेको हो । नेपाल सरकार र प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह ग–यो । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण सुरु भएको थियो।

स्रोतका अनुसार मिटर ब्याज सरह लिएको ऋण नेपाले २० वर्षभित्रमा चुक्ता गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ। नेपाल सरकार ग्यारेण्टी वसेर उक्त ऋण प्राप्त भएको हो । निर्धारित समयमा ऋण तिर्न नसक्ने अवस्था आयो भने सन २०३७ पछि भने विमानस्थलावाट हात धुनु पर्ने अवस्था आउन सक्छ।

केही समयअघि चीनले युगान्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिएपछि नेपालमाथि पनि त्यो खतरा मडारिन थालेको जानकारहरु वताउँछन् । युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिएको छ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको तत्कालिन सरकारले सन् २०१५ मा सो विमानस्थल विस्तारका लागि चीनको एक्स्पोर्ट– इम्पोर्ट बैंकबाट २०७ मिलियन डलर ऋण लिएको थियो । सात वर्षभित्र सो ऋण चुक्ता गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम युगान्डाले तोकिएको समयावधिभित्र ऋण तिर्न नसक्ने भएपछि चीनले सो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिएको हो।
 

विशेष