News

चोलेन्द्रविरुद्धको महाअभियोगको टुंगो नलगाइएकोप्रति कांग्रेस सांसदले संसदमा उठाए प्रश्न

चोलेन्द्रविरुद्धको महाअभियोगको टुंगो नलगाइएकोप्रति कांग्रेस सांसदले संसदमा उठाए प्रश्न

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावको टुंगो नलागेको विषयमा नेपाली कांग्रेसका सांसदले नै प्रश्न उठाउन थालेका छन् ।

बुधवार प्रतिनिधि सभाको वैठकमा समय लिएर बोलेका कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्याय ढिलो दिनु न्याय नदिनु सरह रहेको भन्दै प्रश्न उठाएका हुन। उनले महाभियोग लगाउने र टुंगो नलगाएर राख्ने प्रवृति विधिविहीनताको पराकाष्ठा र संविधानवादको उपहास भएको बताए।

‘कानुनले दिनुपर्ने अन्तिम निर्णय नदिएर यस किसिमले तरबार झुण्ड्याएर राख्ने, निर्णयविहीनता हुनु विधिविहीनताको पराकाष्ठा हो । संविधानवादको उपहास हो ।’– उनले भने।

प्रतिनिधि सभामा जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग दर्ता भएको थियो । महाअभियोग टुंगो नलागी जबरा निलम्बनकै अवस्थामा अवकाश पाइसकेका छन् । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा महाअभियोग सिफारिस समितिले जबराविरुद्ध महाअभियोग लाग्ने सिफारिस गरेको थियो । तर, उक्त सिफारिस सहितको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत हुन सकेन ।

आम चुनाव भएको पनि दुई महिना भइसक्यो । अघिल्लो कार्यकालमा आएको महाअभियोग नयाँ प्रतिनिधिसभामा अगाडि बढ्ने वा नबढ्ने विषयमा संसद सचिवलाय र राजनीतिक दलहरु प्रष्ट भएका छैनन् । यसकारण जबराविरुद्धको महाअभियोग के हुन्छ भन्नेमा अन्योलता कायमै छ ।

यसअघि संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले प्रतिनिधिसभाको अघिल्लो कार्यकाल सकिएको भन्दै जबरालाई उनीविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको थियो ।

यस सम्बन्धमा कांग्रेसका सांसद केसीले संसदमा छलफल हुनुपर्ने माग राखेका छन् । ‘सर्वोच्च अदालतको अन्तरिम आदेश र महाअभियोगको सम्पूर्ण फाइलहरू दुई महिनासम्म संसदमा प्रस्तुत नहुनु दुखद भन्ठानेको छु,’ केसीले भनेका छन् । 
 

विशेष