News

राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने माओवादी तयारी, औपचारिक निर्णय गर्न वैठक वस्दै

राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने माओवादी तयारी, औपचारिक निर्णय गर्न वैठक वस्दै

नेकपा (माओवादी केन्द्र)ले औपचारिक रुपमै नेकपा एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्ने तयारी गरेको छ। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउन माओवादीले औपचारिक निर्णय नै गर्न लागेको हो।

यो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केहीदिनमै गर्ने माओवादीका एक उच्च नेताले बताए। वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने माओवादीले निष्कर्ष निकालेको छ।

स्थायी कमिटीको बैठक अघि पदाधिकारीको बैठक बस्न सक्ने पनि उनले बताए। राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका अर्का नेताले पनि पुष्टि गरे। निर्णयमा लेखिने ब्यहोरा जस्तो भएपनि सारमा कांग्रेसलाई मत दिने विषय प्रमुख भएको उनको भनाई छ। ‘राष्ट्रिय सहमतिका लागि’ भनेर आए पनि त्यसको सार एउटै हो’– उनले भने।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ। त्यसैले त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गर्न लागेको हो। एमालेसँग दीर्घकालमा यो गठबन्धन चल्न नसक्ने प्रयाप्त संकेत अहिले नै देखिएकाले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउन लागेको माओवादीका ती नेताले बताए।

एमालेसँग फेरि पार्टी एकता गर्न नसकिने देखेपछि प्रधानमन्त्री दाहाल यो गठबन्धन लामो समयसम्म चल्न नसक्ने निष्कर्षमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए। राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयसँगै राष्ट्रिय राजनीतिमा ‘नयाँ कोर्स’ सुरू हुने उनले बताए। माघ तेस्रो साता भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समेत एमालेलाई राष्ट्रपति दिन नहुने धारणा नेताहरूले राखेका थिए। बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने, त्यस्तो हुन नसके एमालेलाई दिन नहुने धारणा राखेका थिए।

स्रोतका अनुसार माओवादी र कांग्रेसका उच्च तहका नेताहरूबीच अनौपचारिक सहमति भइसकेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षमात्र नभई शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पनि राष्ट्रपतिका लागि औपचारिक सहमति गरेर जान जोड दिएका छन्। दाहाललाई प्रधानमन्त्रीमा पूर्ण सहयोग रहने शेखर–गगन समूहले पनि आश्वासन दिएको छ। 

विशेष