News

चित्रबहादुर केसीको आरोप– सामान्य कर्मचारी आउँदा राष्ट्रप्रमुख नै लम्पसार

चित्रबहादुर केसीको आरोप– सामान्य कर्मचारी आउँदा राष्ट्रप्रमुख नै लम्पसार

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्तिराष्ट्रहरू राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा मैदानमै उत्रिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्। 

उनले यसअघि शक्तिराष्ट्रहरु अप्रत्यक्ष रूपले भूमिका खेले पनि यसपटक भने प्रत्यक्ष रूपमा नै मैदानमा आएको वताए । शक्तिराष्ट्रले आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए। सांसद केसीले यसले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दख्खल भइरहेको बताए।

सांसद केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्तिराष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे। भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको उनले बताए। 

भूगोलको हिसाबले राष्ट्र सानो, ठूलो भए पनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठूलो नहुने उनको तर्क थियो। 

केसीले नेपालका शीर्ष नेताहरु भारतमा जाँदा भारतीय शासकहरुलाई भेट्नै नसक्ने तर भारतका कर्मचारीले नेपालका राष्ट्र प्रमुखसँग सजिलै भेट्ने गरेको बताए। केसीले भने, ‘भारतका परराष्ट्र सचिवले नेपालका शीर्ष नेताहरुसँग भेटघाटको अभियान चलाउनुभयो। राष्ट्र सानो ठूलो हुनसक्छ। तर, सार्वभौम सत्ता, भौगोलिक अखण्डताका हिसाबले सानो ठूलो हुँदैन। नेपालबाट पूर्व प्रधानमन्त्री जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्।’

‘नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चा छ। त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रुपले नै आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ’, उनले भने, ‘विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छौँ, यसले वास्तवमा राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल गरिरहेको छ।’

सांसद केसीले नेपालमा गणतन्त्रमाथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताए। 
 

विशेष