रास्वपाका सांसदले प्रतिनिधि सभामा मन्त्री खोजेपछि...
![रास्वपाका सांसदले प्रतिनिधि सभामा मन्त्री खोजेपछि...](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/birajbhakta.jpg)
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सरकारका मन्त्रीहरुको खोजी गरेका छन् । विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मन्त्रीको खोजी गरेका हुन् ।
घर्ती बोलिरहँदा उठेर श्रेष्ठले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ‘केमा नियमापत्ति’ हो भन्दै प्रश्न गरे । यसपछि सांसद श्रेष्ठले बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै नियमापत्ति जनाए । तर, सभामुख घिमिरेले बैठकमा ऊर्जा राज्यमन्त्री दिपक सिंह उपस्थित रहेको बताए । फेरि सांसद श्रेष्ठले राज्यमन्त्री रहेर नहुने भन्दै सरकारको जवाफदेहिताप्रति प्रश्न उठाए ।
साथै बैठक चलिरहँदा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे स्मरण गराए । मन्त्रीहरु बाहिर भित्र गरिरहेको जानकारी गराउँदै सभामुख घिमिरेले पुनः मन्त्री आउने बताए । सभामुख घिमिरेको जवाफपछि सांसद श्रेष्ठले आफूले सभामुखको ध्यानाकर्षण गराउन मात्र खोजेको बताएका थिए।
हाल १९ सदस्यीय मन्त्रीमण्डल रहे पनि प्रतिनिधि सभाको बुधवारको बैठकमा राप्रपाका सांसद एवं उर्जाराज्यमन्त्री दीपकबहादुर सिंह मात्र उपस्थित रहेका छन् । मन्त्रीहरूका साथै विभिन्न दलबाट प्रतिनिधित्व गर्ने अन्य सांसदहरू पनि उपस्थित नहुँदा प्रतिनिधि सभाका कुर्सीहरू खाली भएका छन् ।