News

यस कारण अघि वढेन रविको दोहोरो पासपोर्टमाथिको अनुसन्धान

यस कारण अघि वढेन रविको दोहोरो पासपोर्टमाथिको अनुसन्धान

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकैसाथ नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेको दाबी गर्दै परेको उजुरीमाथिको छानबिन अहिले रोकिएको छ। 

सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेले प्रक्रिया पूरा नगरी नेपाली नागरिकता स्वतः कायम रहेको घोषणा गरेको र उक्त निष्क्रिय रहेको नागरिकताकै प्रयोग गरी नेपाली राहदानी लिएको भनेर अनुसन्धानको माग गर्दै गृहमन्त्रालयमा उजुरी दिएका थिए। तर, त्यो विषयको अनुसन्धान अघि बढ्न सकेको छैन। 

गत मंसिर ९ गते युवराजले दिएको उजुरीमा अमेरिकी नागरिकता लिएपछि स्वतः निष्क्रिय रहेको नेपाली नागरिकताकै अधारमा नेपाली पासपोर्ट बनाएको र एकैसाथ अमेरिकी र नेपाली पासपोर्ट प्रयोगमा ल्याइएको उल्लेख छ।

त्यो उजुरीमाथि छानबिन गर्न भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई र जिल्ला प्रशासनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो। तर, उजुरी परेको तीन महिना बितिसक्दा समेत अनुसन्धान अघि बढ्न सकेको छैन। प्रहरीले अनुसन्धान अघि नबढाएको भन्दै सफलले गत माघ २४ गते जिल्ला सरकारी वकिल कार्यालयमा पनि उजुरी दिए।

सरकारी वकिल कार्यालयले सम्बन्धित निकायबाट जवाफ तथा कागजात मगाएको थियो। तर, पछि सरकारी वकिल कार्यालयले समेत अनुसन्धान गर्नु नपर्ने निर्णय सुनायो। ‘सम्बन्धित कार्यालयहरुमा बुझ्दा र कागजात मगाउँदा उक्त निवेदनमा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएर अनुसन्धान अघि बढेको पाइएकाले अनुसन्धान अघि नवढेको’ वकिल कार्यालयले जनाएको छ।

यता, प्रहरीले समेत अनुसन्धान रोकेको छ। सर्वोच्च अदालतमा सफल र अधिवक्ता रविराज बसौलाले लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटको फैसला गर्ने बेला सर्वोच्चले रविमाथि प्रहरीले गरेका छानबिन र अहिलेसम्म खुलेका विवरणहरुको सक्कल फाइल पठाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि परिसर काठमाडौंले फाइल अदालतमा पेस गरेको थियो। सोही फाइल अहिलेसम्म फिर्ता नआएकाले अनुसन्धान रोकिएको परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए। 

नागरिकतामाथि रिटको गत माघ १३ गते फैसला गर्दै सर्वोच्च अदालतले रविको सांसद पद नै खारेज हुने फैसला गरेको थियो भने प्रक्रिया पूरा गरेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्ने उल्लेख गरेको थियो। मुद्दाको फैसला भएको एक महिना बित्न लाग्दा अदालतले प्रहरीलाई फाइल भने फिर्ता गरेको छैन। 

यस मुद्दाको पूर्णपाठ आउनै बाँकी रहेकाले अनुसन्धानका फाइलहरु अध्ययन गर्नुपर्ने भएकाले तत्काल फिर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ। सर्वोच्चले फाइल फिर्ता नगरुन्जेललाई भने रविको दोहोरो पासपोर्टमाथि अनुसन्धान अघि बढ्ने अवस्थामा छैन।

लामिछानेले नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए। अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको बताइएको छ भने अर्कोतर्फ उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको दाबी गरिएको छ।

रवि लामिछाने राहदानी

विशेष