News

जेलमा रहेका सांसद चौधरीलाई प्रजातन्त्र दिवसमा माफी दिने प्रचण्डको तयारी

जेलमा रहेका सांसद चौधरीलाई प्रजातन्त्र दिवसमा माफी दिने प्रचण्डको तयारी

सांसद निर्वाचित हुँदासम्म फरार रहेर हालै पक्राउ परेपछि थुनामा रहेका कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पाार्टीका सांसद अरुणककुमार चौधरीलाई सरकारले माफी दिने प्रक्रिया अघि बढाएको छ। 

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारी उनलाई माफी दिएर थुना मुक्त गर्न लागिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नै संहालेको गृह मन्त्रालयमार्फत् उनको सजाय माफी दिने प्रक्रिया अघि बढेको छ। गृह मन्त्रालयले त्यसका लागि महान्यायाधिवक्ता कार्यालयमा पत्र पठाएको छ। 

गृह मन्त्रालयले फागुन ४ गते पत्र लेख्दै निलम्बनमा परेका चौधरीलाई माफी दिने विषयमा राय पेस गर्न र चौधरीको मुद्दा अन्तिम भएको हो कि हैन भनि जानकारी माग गर्दै पत्र लेखेको छ। गृहको पत्र अनुसारसरकारी वकिलको कार्यालयले राय उपलब्ध गराएमा उनको सजाय र जरिवाना दुवै माफी हुने छ। राष्ट्रपतिले माफी दिएलगत्तै उनी थुनामुक्त भएर सांसदको रुपमा पुनः प्रतिनिधि सभामा सहभागी हुन पाउने छन्।

गृह मन्त्रालयबाट पत्र गएपछि महान्यायाधिवक्ता कार्यालयमा रायका विषयमा बिहीबार छलफल चलिरहेको छ। 

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो। फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी ल्याईएको थियो।

प्रहरीले पक्राउ गरेपछि उनलाई सजायको लगत कट्टाका लागि थुनामा राखिएको थियो। जिल्ला अदालतले थुनामा पठाएपछि उनी त्यसविरुद्ध बन्दीप्रतिक्षीकरणको निवेदन लिएर उच्च अदालत दिपायल पुगेका थिए। बुधबारमात्र उनको मुद्दामा सुनुवाइ भएको थियो। तर उच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। 

फरार सूचीमै रहेका बेला चुनाव लडेका उनी विजयी भएका थिए। नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद चौधरीको रिहाइको माग गर्दै बिहीबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। 

अरुणककुमार चौधरी

विशेष