News

गोंगबु घट्ना छानविन गर्न डिआईजी खाँको नेतृत्वमा समिति, १५ जना पक्राउ

गोंगबु घट्ना छानविन गर्न डिआईजी खाँको नेतृत्वमा समिति, १५ जना पक्राउ

यातायात मजदुरले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न डीआईजी मसउद आलम खाँको नेतृत्वमा छानविन समिति गठन भएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआईजी खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार यो समिति बनाइएको हो ।

समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो । अरु सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेको थियो ।

उग्र भिडले लोत्से मलमा लुटपाट समेत गरेको थियो । यसमा संलग्न १५ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले नियन्त्रणमा लिइसकेको छ ।

भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेको र थप केही निगरानीमा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको छ। पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए । 
 

विशेष