सांसद चन्द्र भण्डारीको घरमा सिलिण्डर विस्फोट भएको होईनः प्रहरी
काठमाडौँको बुद्धनगरस्थित नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको घरमा ग्याँस सिलिण्डर विस्फोट नभएको प्रहरीले जनाएको छ। बुधवार राती ग्याँस गन्हाएपछि किचनमा पुगेर बत्ती बाले लगत्तै आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता सिताराम रिजालका अनुसार आमा हरिकलाले सवा १० बजे ग्याँस गनायो भन्दै छोरा चन्द्रलाई बोलाएकी थिइन्। चन्द्रले बत्ती बाल्न किचनको स्विच अन गरे लगत्तै आगो सल्किएर फैलिएको प्रहरीको भनाई छ।
‘हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुँदा त्यसैले फैलिएको ग्याँस समात्न सक्ने बताएका छन्’ एसपी रिजालले भने–‘अन्य विषयमा थप अनुसन्धान भइरहेको छ।’
ग्याँस लिक भएपछि आगो लागेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। सिलिन्डर भने विस्फोट नभएको पाइएको छ। आगलागीमा गम्भीर घाइते आमा छोरा दुवैलाई तत्कालै कीर्तिपुरस्थित बर्न सेन्टर लगिएको थियो। उपचारका क्रममा हरिकलाको बिहीबार बिहान निधन भएको छ भने चन्द्रको पनि गम्भीर अवस्थामा उपचार भइरहेको छ।
उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी थालिएको उनको सचिवालयले जानकारी दिएको हो। भण्डारीलाई एयर एम्बुलेन्समा लैजान लागिएको हो । अस्पताल स्रोतका अनुसार उनलाई ६ जना चिकित्सकसहित ११ जनाको साथमा एयर एम्बुलेन्समा लैजान सम्पूर्ण तयारी पूरा भएको छ । उनलाई अस्पतालबाट विमानस्थलतर्फ लैजान लागिएको छ ।
भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ । चन्द्र भाइ बुहारी र आमासँग बस्दै आएका थिए।
चन्द्र भण्डारी