News

राष्ट्रपतिको विषयमा सहमति जुटाउन प्रधानमन्त्री बालकोटमा

राष्ट्रपतिको विषयमा सहमति जुटाउन प्रधानमन्त्री बालकोटमा

राष्ट्रपतिको विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।

राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे दाहाल र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे छलफल गर्न दाहाल बालकोट पुगेका हुन।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि दाहाल र ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन् ।

एमाले अध्यक्ष ओलीले पुस १० को सहमति अनुसार आफ्नो पार्टीले उठाएकै व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने अडान लिइरहेका छन्। भने प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति जुटाएर साझा उम्मेदवार बनाउनुपर्ने तर्क गरिरहेका छन्।

प्रधानमन्त्री र ओलीबीच रहेको यही असहमतिका कारण दुबैबीच पटक पटक भेटवार्ता भइरहेको छ। बिहीबार प्रधानमन्त्री दाहाल र ओलीबीच २ घण्टा बालुवाटारमा छलफल भएपनि आफ्ना अडान कायमै रहेपछि कुनै सहमति भएको छैन।

प्रधानमन्त्री दाहालले शुक्रबार विहान राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको टोलीसँग राष्ट्रपतिको विषयमा अनावश्यक दबाब आइरहेको बताएका थिए।


 

विशेष