News

ओलीलाई राहत दिन प्रचण्डले भने– गठबन्धन भत्किदैन, राष्ट्रपतिमा सहमति हुन्छ

ओलीलाई राहत दिन प्रचण्डले भने– गठबन्धन भत्किदैन, राष्ट्रपतिमा सहमति हुन्छ

राष्ट्रपति उम्मेदवारमा राखेको अडानका कारण झस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राहत दिन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन नभत्किने बताएका छन् ।

आज गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा यस्तो वताएका हुन। उनले अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने बताए ।

गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री दाहालले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने÷भत्कने कुरै छैन । राष्ट्रपतिको पनि १–२ दिनमा सहमति मै टुंगो लाग्छ ।’

दाहाल र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ ।

यता, ओली भने दाहालले धोका दिनेमा लगभग विश्वस्त छन् । उनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल रुपमा शुभारम्भ गर्दै ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनको आसय राष्ट्रपति निर्वाचन र माओवादी– कांग्रेससँग लक्षित रहेको नेताहरुले वताएका छन् ।
 

विशेष