News खेल

नेपालले टस जितेर फिल्डिङ रोज्यो, टिममा सामान्य परिवर्तन

नेपालले टस जितेर फिल्डिङ रोज्यो, टिममा सामान्य परिवर्तन

आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि स्कटल्याण्डले ब्याटिङ गर्दैछ।

नेपालले पहिलो खेलको टोलीमा एक परिवर्तन गरेको छ। स्पिनर ललित राजवंशीको स्थानमा तीव्र गतिका बलर गुल्सन झालाई टोलीमा समावेश गरिएको छ। टिममा आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने छन्।

आफ्ना अन्तिम तीन खेल अगाडि नै च्याम्पियन भइसकेको स्कटल्याण्ड र घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको नेपालबीच बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरू हुनेछ। स्कटल्यान्डको बलिङ र ब्याटिङ दुबै विश्वस्तरिय छ। 

२५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। सिधै ओडीआई जोगाउन नेपाललाई बाँकी एघारमध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ। च्याम्पियन भएर यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भइसकेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

ओडिआईमा स्कटल्यान्ड र नेपालबीच हालसम्म चार खेल भएका छन्। नेपाल एक र स्कटल्यान्ड तीन खेलमा विजयी भएका छन्। नेपालले गत जुलाईमा स्कटल्यान्डलाई उसकै मैदानमा पाँच विकेटले हराएको थियो। 
 

विशेष