News

गृहमन्त्रालयका कारण सत्ता गठबन्धनमा खटपट, बाक्लियो नेताको दौडधुप

गृहमन्त्रालयका कारण सत्ता गठबन्धनमा खटपट, बाक्लियो नेताको दौडधुप

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्रीमा नियुक्तिका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाई बारम्बार भेटीरहेका छन् । उनलाई गृहमन्त्री बनाउन ओली सकारात्मक भएपनि दाहाल तयार देखिएका छैनन् ।

सर्वोच्च अदालतले नागरिक्ता वदर गरेर आईतवार नागरिकता कायम भएसँगै पार्टीको सभापतिमा पुनः चयन भएका लामिछानेले केन्द्रीय समितिबाटै गृहमन्त्री पार्टीले पाउनुपर्ने निर्णय गराएका थिए । सोही निर्णयअनुसार ओली र दाहालाई भेटेर रविले निरन्तर दबाब बढाएपनि उनी अनुकूलको निर्णय आउन सकेको छैन । बरु, रवि प्रकरणले सत्ता गठबन्धनमा खटपटको अवस्था निम्तिएको छ । 

लामिछानेलाई गृहमन्त्रीमा नफर्काउने प्रधानमन्त्रीको आशयपछि उनी छटपटीमा परेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे रविले आफू निकटसँग छलफल थालिसकेका छन् । सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले सभापतिले पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसहित दलका नेताहरूसँग छलफल गरिरहेको जानकारी दिए । 

बरु लामिछानेले अझै पनि आफ्नो दौडधूपलाई जारी राखेका छन् । मंगलबार साँझ ओलीलाई भेटेका रविले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । लामिछानेको आग्रहमा ओलीले सरकारको विषय प्रधानमन्त्रीकै भएकाले आफूले सहजीकरणका लागि प्रयास मात्र गर्न सक्ने तर निर्णय आफ्नो हातमा नहुने जवाफ दिएका थिए । लगत्तै बुधवार बिहान अध्यक्ष ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । 

दाहालले रविलाई फर्काउन नचाहने र रवि आफ्नो अडानमा रहिरहँदा सत्ता साझेदार दलमा थप खटपट बढ्न सक्ने चिन्ता सत्ता साझेदार दलमा देखिएको छ ।  यही चिन्ताका बीच बुधवार बिहान राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । भेटमा रविको समस्याका साथै गठबन्धनलाई एक ढिक्का बनाएर अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । 

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिले सत्ता साझेदार दलभित्र केही समस्या देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीको नेतृत्वमा छलफल भइरहेको बताए । 

साझेदार दलहरुबीचको मतभेद न्यूनीकरणका लागि पहल भइरहेको भन्दै राष्ट्रपति, गृहमन्त्री र बाँकी रहेका दुईवटा मन्त्रालय कसलाई दिने भन्ने विषयमा सहमति जुटाइने बताए । सबै विषय मिलाउँदै गठबन्धन र सरकारलाई एक ढिक्का बनाएर अगाडि बढाइने उनको भनाइ छ । 

रविको नागरिकता पुनः कायम भइसकेपछि उनलाई फेरि सरकारमा स्वागत गर्न आफूमाथि चर्को दबाब परिरहेको दाहालले माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा ब्रिफिङसमेत गरेका थिए । लामिछानेसहित अरू पार्टीबाट समेत उनलाई गृहमन्त्री बनाउन आफूमाथि दबाब आएको उनको भनाइ थियो । 

यसैबीच रास्वपामा रविलाई सरकारमा स्वागत गर्न नसक्ने अवस्था हो भने सो पद पार्टीकै दोस्रो व्यक्तिलाई दिनुपर्ने आवाज पनि उठेको छ।  केही नेताहरूले पार्टीकै योग्य र क्षमतावानलाई मन्त्रालय दिनुपर्ने धारणा राखेका हुन् । 

विशेष