एमालेबाट राष्ट्रपतिका लागि यी नेताको नाम चर्चामा, कस्लाई छान्छन् ओलीले ?
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न एक साताभन्दा कम समय बाँकी रहँदा नेकपा एमालेमा भने उम्मेदवारका नयाँ–नयाँ नाम चर्चामा आउन थालेका छन् । राष्ट्रपतिमा सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमालेको दाबी छ ।
अर्कोतर्फ संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि भावी राष्ट्रपतिमा दावी गरिरहेको छ। सम्भवतः यी दुई दलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर, राष्ट्रपति चुनावको ‘निर्णायक’ नेकपा माओवादी केन्द्रले आफ्नो पत्ता नखोल्दा दुवै दलले उम्मेदवार तय गर्न सकेका छैनन्।
पुस १० गते दाहाल नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने एमालेको अडान छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै दाहालको भाका मात्र होईन योजना र कृयाकलाप समेत फेरिएको छ ।
एमालेलाई राष्ट्रपति दिने पूर्वसहमतिबाट पछि हट्दै उनले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् । उनको भनाइको भित्री अभिष्ट चाहिँ एमालेलाई नदिने भन्ने नै हो । कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ ।
फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली निरन्तर संवादमा छन् । तर, उनिहरुको छलफल सकारात्मक छैन। एमाले चाहिँ राष्ट्रपति कुनै हालतमा नछाड्ने पक्षमा छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउने र उसकै नाममा राष्ट्रिय सहमति गर्नुपर्ने बारम्बार बताइरहेका छन् । यदि माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे के गर्ने भन्ने ‘प्लान बी’ एमालेसँग अहिलेसम्म छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालसँगको एउटा वैठकमा ओलीले राष्ट्रपतिका लागि पार्टीको वरियतामा दोस्रो स्थानमा रहेका इश्वर पोखरेल, डोरमणि पौडेल, गुरु बराल र विष्णु रिमालको नाम लिएको चर्चा चलेको थियो । ती नामहरुमा दाहालले असहमति जनाएका थिए ।
बाहिर नखुले पनि एमालेभित्र राष्ट्रपतिका आकांक्षीहरु थुप्रै छन् । सुभाषचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, शेरवहादुर तामाङलगायतको नाम चर्चामा छ ।
एमाले अध्यक्ष ओलीले भने विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै सत्ता गठबन्धनको तर्फबाट पार्टीले फागुन १३ गते राष्ट्रपतिको नाम सार्वजनिक गर्ने बताएका छन् ।
राष्ट्रपति