News

यस कारण पार्टीको नाम फेर्न चाहान्छन् प्रचण्ड

यस कारण पार्टीको नाम फेर्न चाहान्छन् प्रचण्ड

नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने बहस पछिल्लो समय निकै चर्चामा छ। माघ १२–२१ सम्मको माओवादी केन्द्रको पदाधिकारी र स्थायी समितिको वैठकले यो विषयलाई थप अगाडि वढाएको हो।

बैठकमा अध्यक्ष दाहालले पेस गरेको प्रस्तावमा पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषयमा उल्लेख छ । ९ पृष्ठको उक्त प्रस्तावमा भनिको छ, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्नलगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवम् प्रतिस्पर्धासमेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ । त्यसका लागि प्रारम्भिक चरणमा तीन महिनाका लागि कार्यक्रम प्रस्ताव गरिएको छ ।’

तर, पार्टी सचिव देवेन्द्र पौडेल भने अन्य पार्टीसँग एकता गर्नका लागि मात्र यस्तो प्रस्ताव गरिएको बताउँछन् । उनका अनुसार कुनै दलसँग पार्टी एकता नभई माओवादी केन्द्रले नाम परिवर्तन हुँदैन। स्थायी समिति बैठकमा पनि पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव मात्र आएको तर पास भने नभएको कोषाध्यक्ष श्रीराम ढकाल बताउँछन् । 

उसो त नाम फेर्ने मात्र होइन, कहिलेकाहीँ अध्यक्ष दाहाल माओवादी पार्टी नै विघटन गर्ने घोषण गर्छन् । २३ भदौ २०७८ मा राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले माओवादी पार्टीलाई विघटन गरिदिए हुने बताएका थिए । त्यसैले माओवादीभित्र नाम परिवर्तनको कुरा र पार्टी विघटनको कुरा सामान्य हो।

अहिले माओवादीले नेकपा एकीकृत समाजवादी र जसपासँग पार्टी एकताका लागि कुरा गरिरहेको छ । एकता हुने भएपछि माओवादी केन्द्रले पार्टीको नाम समाजवादी केन्द्र राख्ने भन्दै आएको छ । त्यसका लागि नै नाम परिवर्तन हुने कुरा चलेको माओवादी केन्द्रका सचिव पौडेल बताउँछन् । 

शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि माओवादीले दुई पटक पार्टीको नाम परिवर्तन गरिसकेको छ । पहिलोपटक २०६५ सालमा माओवादीले नाम फेरेको थियो । एकता केन्द्रसँग एकता गरेपछि माओवादीले नेकपा एकीकृत माओवादी नाम राखेको थियो । त्यसपछि नेकपा माओवादी लामो समयसम्म एकीकृत माओवादी बन्यो ।

०७३ सालमा माओवादीबाट फुटेर गएका माओवादीहरूसँग पार्टी एकता गरेपछि फेरि नाम परिवर्तन गरियो । त्यसपछि फेरि एकीकृत माओवादी नाम परिवर्तन गरेर नेकपा माओवादी केन्द्र राखियो । 

यसैगरी, दाहाल पार्टीको नेतृत्वमा आएपछि पार्टीको नाम चार पटक परिवर्तन भइसकेको छ । नेकपाको चौथो महाधिवेशनबाट अहिलेको माओवादीले पार्टीको नाम फेर्न सुरु गरेको थियो । नेकपा चौमबाट सुरु भएको यो पक्षले पछि नेकपा एकता केन्द्र बनाए । नेकपा (एकता केन्द्र) को गठन २०४७ मंसिर ३ मा भएको थियो ।

जसमा नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन), सर्वहारा मजदुर संघ र नेपाल कम्युनिष्ट पार्टी (जनमुखी) बीच एकता भएर नेकपा एकता केन्द्र बनेको थियो । त्यसलगत्तै नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाट विद्रोह गरेको हरिबोल गजुरेलको नेतृत्वमा बाबुराम भट्टराईसहित एकता केन्द्रमै सामेल भए । तर, एकता केन्द्रमा पनि विवाद बढेपछि पार्टी विभाजन भयो । चितवनको माडीमा भएको एकताको छैटौँ महाधिवेशन हलबाटै विवाद सुरु भयो । 

यो महाधिवेशनबाट तत्कालीन महामन्त्री पुष्पकमल दाहालको दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित भयो । महाधिवेशनको हलबाट नै यो कार्यदिशाप्रति असहमति राखेका निर्मल लामा, नारायणकाजी श्रेष्ठ, रुपलाल विश्वकर्मा र पुष्पकमल दाहालबीच वैचारिक विवाद बढ्दै गयो । अन्ततः २०५१ सालमा एकता केन्द्र विभाजन भयो ।  

एक पक्षले एकता केन्द्रको नाम फेरेर नेकपा (माओवादी) राखे । यो पार्टीको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरे । अर्को पक्षले एकता केन्द्र नै नाम राखेर पार्टीलाई पुनः गठन गरे । जसको नेतृत्व निर्मल लामाले गरे । २०५१ मा गठन भएको नेकपा (माओवादी) ले २०५२ फागुन १ गते ‘जनयुद्ध’को घोषणा ग¥यो । माओवादी नाम २०६५ सम्म कायम रह्यो ।

तर, राजनीतिक कार्यदिशा र नाम फेरेर एकता अभियान चलाइरह्यो । शान्ति प्रक्रियामा आएपछि केही समय माओवाद र माओ विचारधारासँगै मान्ने घोषणा ग¥यो । एकता केन्द्रसँग एकता गर्दा माओवाद र माओ विचारधारा मान्ने निर्णय गरेको माओवादीले ‘प्रचण्डपथ’ छोड्यो । जबकि ‘जनयुद्ध’ सुरु गर्दा मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमा) लाई मार्गदर्शक सिद्धान्त मान्ने माओवादीले तीन वर्षभित्रै नेपालको मौलिक क्रान्तिको नाम भनेर ‘प्रचण्डपथ’ मान्न थाल्यो ।

२६ माघदेखि १ फागुन २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट नेतृत्वलाई स्थापित गर्ने भन्दै ‘प्रचण्डपथ’ मान्न थालियो। ०६४ सालमा माओवादी पनि अन्तरिम सरकारमा सामेल भयो । त्यसपछि अन्तरिम सरकार निर्माण, संविधानसभा गठन र त्यसबाट संविधान निर्माण गर्नु प्रचण्डपथको संश्लेषण भएको व्याख्या ग¥यो । ‘जनयुद्ध’को लामो समयपछि अथवा १३ वर्षपछि पार्टीको नाम र आठ वर्षपछि ‘प्रचण्डपथ’ छोड्यो । २९ पुस २०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग एकता गरेपछि एकीकृत नेकपा माओवादी बन्यो । 

२०६९ असारमा मोहन वैद्य, रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्दलगायतले पार्टी विभाजन गरे । ६ जेठ २०७३ मा दश टुक्रामा विभाजित माओवादीहरूको एकता भयो । त्यसपछि पार्टीको नाम राखियो– नेकपा माओवादी केन्द्र । ०७४ को निर्वाचनमा गठबन्धन गरेको एमालेसँग माओवादी केन्द्रले ३ जेठ २०७५ मा पार्टी एकता ग¥यो । एमालेले जबज र माओवादीले माओवाद र एक्काइसौँ शताब्दीको जनवाद छोड्यो । एकता हुँदा माओवादीले पार्टीको नाम र चुनाव चिह्न छोड्यो । तर, नेकपाको एकता जोगिएन । माओवादी केन्द्र पुनः ब्युँतिएपछि अहिले फेरि माओवादीमा पुनः नाम फेर्ने चर्चा सुरु भएको छ । 

यो पनि,

यस कारण पार्टीको नाम फेर्न चाहान्छन् प्रचण्ड

माओवादी केन्द्र नाम नेकपा माओवादी

विशेष