News खेल

फिक्सिङ आरोपमा तीन खेलाडीसहित ५ जनाविरुद्ध मुद्दा, दुई जना फरार

फिक्सिङ आरोपमा तीन खेलाडीसहित ५ जनाविरुद्ध मुद्दा, दुई जना फरार

फिक्सिङ आरोपमा तीन खेलाडी र अरू दुईसहित पाँचजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दहालका अनुसार खेलाडीहरू नितेश गुप्ता, मेहबुब आलम र मोहम्म आदिल अन्सारी तथा नवीन कँडेल र रवि माझीविरुद्ध सोमबार मुद्दा दायर गरिएको हो ।

उनीहरूविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ अनुसारको खेलमा मिलोमतो तथा अनियमितता गरेको भन्दै दफा ३३ बमोजिमको सजाय माग गरिएको छ । मुद्दा दायर गरिएका मध्ये नितेश, मेहबुब र आदिल पक्राउ परिसकेका छन् । कँडेल र माझी फरार छन् ।

यही फागुन २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गएको पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई ‘फिक्सिङ’को प्रस्ताव आएको खुलासा गरेका थिए ।

गृह मन्त्रालयले फिक्सिङ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो । अनुसन्धानका क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा युवा अलराउन्डर मोहम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए । 
 

विशेष