News विदेश

अचानक युक्रेन पुगेका अमेरिकी राष्ट्रपति बाईडेनले रुसलाई लक्षित गर्दै ट्वीट गरे

अचानक युक्रेन पुगेका अमेरिकी राष्ट्रपति बाईडेनले रुसलाई लक्षित गर्दै ट्वीट गरे

एक वर्षअघि रूसले आक्रमण गरेर ध्वस्त पारेको युक्रेन पुगेका अमेरिकी राष्ट्रपति जो वाईडेनले युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूर्ण प्रतिबद्धता रहने वताएका छन्।

रूसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले आज युक्रेनको भ्रमण गरेको बताएका उनी सोमवार अचानक युक्रेनको राजधानी किभ पुगेका हुन। द न्युयोर्क टाइम्सका अनुसार बाइडेन सोमबार युक्रेनसँग जोडिएको पोल्यान्डको सीमाबाट रेल चढेर किभ पुगेका हुन्।

सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिएको थियो। ह्वाइट हाउसका अधिकारीहरूले यसअघि राष्ट्रपति बाइडेन एउटा कार्यक्रमका लागि वार्सा पुग्ने बताएका थिए। निर्धारित योजनाभन्दा पहिला नै पोल्यान्ड पुगेका बाइडेन रेल चढेर किभ गएका हुन्। 

एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि त्यस्तो हुन नसकेको बाइडेनले उल्लेख गरेका छन्। ‘झन्डै १ वर्षअघि यो अतिक्रमण सुरू गर्दा  पुटिनले युक्रेन कमजोर छ पश्चिमाहरू विभाजित छन् भन्ने सोचेका थिए। उनले हामीलाई हराउने सोचेका थिए तर उनी पूरै गलत थिए,’–बाइडेनले भनेका छन्।  

गत वर्ष फेव्रुअरी २६ मा रूसले युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो। एक वर्षदेखि जारी रहेको युद्धमा अहिलेसम्म दुबैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन्। अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रहरूले यो युद्धमा युक्रेनलाई सैन्य तालिम र सामग्री दिएर सहयोग गरिरहेका छन्।

केही समयअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए। बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन। 


 

जो बाइडेन

विशेष