News

प्रहरी भ्यानमा आगो लगाईएको घटनामा दुई डिएसपीलाई कारबाही गर्न सिफारिस

प्रहरी भ्यानमा आगो लगाईएको घटनामा दुई डिएसपीलाई कारबाही गर्न सिफारिस

काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनमा दुई डिएसपीको कमजोरी भएको ठहर गर्दै कारबाही गर्न सिफारिस गरिएको छ। डिआइजी मसाउद आलम खाँको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समिति यस्तो सिफारिस गरेको हो।

समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको एक सदस्यले बताए। प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र थप मद्दतका लागि पुगेका प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरिएको हो।

‘दुई जना डिएसपीको कमजोरी देखिएको हुनाले कारबाहीको लागि सिफारिस गरिएको छ,’ ती सदस्यले भने। 

फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो। यस्तै, अस्थायी प्रहरी बिट जलाइएको थियो भने ट्राफिक आइल्यान्डमा पनि तोडफोड गरिएको थियो। 

त्यही आन्दोलनको बेलामा ल्होत्से मलमा पनि तोडफोड भएको थियो। एसिडिसी र डाइमण्ड मोबाइल पसलमा पनि लुटपाट भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले आगजनी तोडफोडमा ३५ जना र लुटपाटमा १६ जना गरी ५१ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि आपराधिक उपद्रव र चोरी तथा डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ। 

यो पनि,

बालाजु

विशेष