News राजनीति

प्रचण्ड र देउवालाई फुटाउन माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने ओली दाउ

प्रचण्डको प्रश्तावः देउवा राष्ट्रपति, आफु पाँचै वर्ष प्रधानमन्त्री

प्रचण्ड र देउवालाई फुटाउन माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने ओली दाउ

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्र कांग्रेसतर्फ औपचारिक रुपमै खुल्न थालेको छ। नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालल कांग्रेससँग औपचारिक रुपमै छलफल अघि बढाएका छन ।

प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा बालुवाटार पुगेका थिए । उनीहरूबीच पुरानै गठबन्धन ब्युँताउने विषयमा दाहालसँग छलफल गरेका थिए।

उक्त छलफलमा प्रधानमन्त्री दाहालले ओलीले एमालेबाटै उम्मेदवार अघि सारे पार्टीबाट औपचारिक निर्णय गरेरै कांग्रेस उम्मेदवारलाई सघाउने वचन दिएका छन । तर, ओलीले वठ्याई गर्न सक्ने उनको आशंका छ। राष्ट्रिय सहमतिको कुरा गर्दा ओलीले माधवकुमार नेपालको नाम अगाडि सारे आफु नैतीक रुपमै अप्ठ्यारोमा पर्ने दाहालले सुनाएका छन्।

गठबन्धन जोगाउन ओली आफैंले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत आफूले पाएको दाहालले कांग्रेस नेताहरूलाई सुनाएका छन । ‘माओवादीले माधव नेपाललाई अघि सार्दैन तर ओलीले त्यस्तो गरिदिए भने के गर्ने भन्ने चासो प्रचण्डजीको छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यस्तो अवस्थामा माओवादीले कांग्रेसलाई समर्थन गर्न नसक्ने र कांग्रेसले पनि माधवजीलाई समर्थन गर्नुपर्ने अवस्था आउला कि भन्ने एउटा शंका छ ।’

बालुवाटारमा जानुअघि देउवाले साँझ ६ बजे धुम्बाराहीस्थित आफ्नै निवासमा पौडेल र सिटौलासहितको पदाधिकारी बैठक राखेका थिए। त्यहाँ पनि राष्ट्रपतिका उम्मेदवार तय गर्ने विषयमा छलफल भएको थियो । यो बैठकमा पनि एकीकृत समाजवादी अध्यक्ष नेपालको प्रसंग उठेको थियो । एक नेताका अनुसार दाहालले कांग्रेस नेताहरूलाई ओलीले नेपालको नाम लिन सक्ने संकेत फोनबाटै दिएका थिए ।

माओवादीले सोमबार पदाधिकारी बैठक बोलाएको छ, जहाँ ओली र कांग्रेससँग भएको छलफलको विषय राख्ने जानकारी दाहालले कांग्रेसलाई दिएका छन । अहिलेको योजनाअनुसार राष्ट्रपति निर्वाचनबाटै सहकार्य गर्ने विषयमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताए । 

माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिनासाथ एमाले सत्ताबाट बाहिरिने आकलन प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूको छ । ओलीले आफ्नै पार्टीबाट उम्मेदवार खडा गरेर माओवादीले कांग्रेसलाई समर्थन दिएको अवस्थामा १३ गतेपछि नै गठबन्धनबाट एमाले बाहिरिन सक्ने बुझाइ प्रधानमन्त्रीको छ ।

एमाले गठबन्धनबाट बाहिरिए प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तो बेला दाहाललाई कति वर्ष प्रधानमन्त्री दिने र कांग्रेसले कति वर्ष लिने भन्नेसम्मको सहमति गर्ने दुई दलको योजना छ ।

राष्ट्रपति निर्वाचनमा माओवादीको मतभार निर्णायक हुने भएकाले कांग्रेसले माओवादीको संस्थागत धारणा बनेपछि मात्रै उम्मेदवार तय गर्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारका लागि स्वयं सभापति देउवाको समेत चर्चा हुने गरेको छ । आफू राष्ट्रपति नहुने बताए पनि पार्टीभित्रकै एउटा समूह र प्रधानमन्त्रीले समेत देउवालाई अघि सार्दा बढी सहज हुने धारणा राख्दै आएका छन । यसो गर्दा आफु पाँचै वर्ष प्रधानमन्त्री बन्न पाउने लालसा दाहालमा देखिएको छ। तर, देउवाले आफू नभएर पौडेलको नाम लिने गरेका छन ।

‘प्रचण्डले कांग्रेसबाट यो उम्मेदवार हुनुपर्छ, यो हुनु हुँदैन भनेर प्रत्यक्ष भनेका छैनन । तर, उनको भित्री चाहना देउवा भइदिए सहज हुन्थ्यो भन्नेमा देखिन्छ ।’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने–‘देउवा आफैंले आफू अघि नसर्ने भनिसक्नुभएको छ । त्यस हिसाबले पौडेल र सिटौलामध्ये जो भए पनि निर्णय लिनुहोस् भन्ने पक्षमा प्रचण्डजी हुनुहुन्छ।’

यो पनि,

राष्ट्रपति

विशेष