News

कालीगण्डकीबाट लगिएको देवशिला अयोध्यामा हस्तान्तरण गरियो

कालीगण्डकीबाट लगिएको देवशिला अयोध्यामा हस्तान्तरण गरियो


नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला गए राति त्यहाँ पुर्याईएको हो।

माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट उक्त शिला निकालिएको छ। माघ १६ गते शिलासहितको टोली जनकपुरबाट अयोध्याका लागि प्रस्थान गरेकोमा दुई दिनपछि त्यहाँ पुगेको हो ।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला लिएर गएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई स्वागत गरे ।

उक्त शीला विहिवार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको छ । विशेष पुजा गर्दै श्रीरामभूमी तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई शीला हस्तान्तरण गरिएको हो। अयोध्यामा निर्माण भईरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो । 

पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको हो। पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले कालीगण्डकी नदीबाट शिला निकाल्नेदेखि धनुषा पु¥याउँदासम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले शिला खोज्न, उत्खनन गर्न र ढुवानीका लागि भन्दै ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ । १६ र १८ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाई र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला पहिचान गरिएको थियो।

अध्ययन गर्दा एक हजार वर्ष भन्दा पुरानो भएको पाइएपछि सोही ढुंगाको क्षमापूजा सम्पन्न गरेर मुख्यमन्त्री खगराज अधिकारीले जानकी मन्दिरका पिठाधीसलाई हस्तान्तरण गरेका थिए।
 

विशेष