News खेल

स्कटल्यान्डविरूद्धको खेलामा कप्तान पौडेलले हाने अर्धशतक

स्कटल्यान्डविरूद्धको खेलामा कप्तान पौडेलले हाने अर्धशतक

स्कटल्याण्ड विरुद्धको आजको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्। जारी खेलमा पौडेलले ५४ बल खेल्दै ५० रन जोडेका हुन्।  उनले २ छक्का र ४ चौका प्रहार गरे।

३० ओभरको खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर  १२६ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भएको थियो।

स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे। अर्का ओपनर केल कोइटजर २२ रनमा आउट भए। कप्तान रिची बेरिङटन शून्य र टोमस म्याकिनटोस १ रनमा आउट भए। चारै जनालाई सन्दीप लामिछानेले आउट गरेका थिए।

क्रिस्टोफर म्याकब्राइटलाई कुशल मल्लले २२ रनमा एलबिडब्लूको धरापमा पारे। म्याथ्यु क्रसलाई दिपेन्द्रसिंह ऐरीले ३४.३ ओभरमा ४२ रनमा रनआउट गरे। दिपेन्द्रले डाइरेक्स हिटमार्फत क्रसलाई पेभेलियन फर्काएका थिए। दुई बलपछि करण केसीले माइकल लिस्कलाई शून्यमा बोल्ड गरे। यस्तै करणले ब्रेन्डन म्याकमुलनलाई ३१ रनमा ललितनारायण राजवंशीको हातबाट क्याच गराए।

क्रिस ग्रेभ्सलाई ललितले ७ बलमा एलबिडब्लू आउट गरे भने मार्क वाट ८ रनमा आउट भए। बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ४५ रन दिए। करण केसीले ३ विकेट लिए। उनले ८.१ ओभरमा ४२ रन खर्चिए। ललित र कुशल मल्लले १–१ विकेट लिए।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेल भईरहेको छ। यसअघि नेपालले सिरिजमा लगातार तीन खेलमा जित हात पारेको थियो। नेपालले नामिबियालाई दुवै खेलमा पराजित गर्दा स्कटल्यान्डविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो।

लिग–२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग–२ को शीर्ष टिम स्कटल्यान्डले ३५ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।

लिग–२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग–२ मा आफ्ना ९ खेल खेल्न बाँकी छदा २७ खेलबाट २४ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग–२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग–२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग–२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ। 
 

विशेष