News विदेश

युक्रेन पुगेपछि बाइडेनलाई पुटिनको चेतावनीः हामी अमेरिकासँग झुक्दैनौं

युक्रेन पुगेपछि बाइडेनलाई पुटिनको चेतावनीः हामी अमेरिकासँग झुक्दैनौं

रुसले युक्रेनमा आक्रमण थालेको ठिक एक वर्षपछि युक्रेन पुगेका अमेरिकी राष्ट्रपति जो बाईडेनलाई लक्षित गर्दै रुसका राष्ट्रपति भ्लादमिर पुटिनले आफुहरु अमेरिकासँग नझुक्ने चेतावनी दिएका छन् ।

रुसले गत वर्ष २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो। पुटिनले आफूले युद्ध हुन नदिन अनेकन प्रयास गरे पनि नेटो र अमेरिकाले यस्तो हुन नदिएको दाबी गरेका छन्। अहिले पनि युद्ध रोक्न वार्ता चाहेको उनले बताएका छन्।

पश्चिमी राष्ट्रका नेताहरुले लगातार झुटा कुरा गर्ने र धोका दिने काम गरिरहेको आरोपसमेत उनले लगाए। ‘पश्चिमी शक्तिहरु सम्मान दिन जान्दैनन्। उनीहरु पुरा संसारलाई थुक्न चाहन्छन्। यस्तै रवैया आफ्नै देशका नागरिकमाथि पनि अपनाउन खोज्छन्,’ सम्बोधनको क्रममा पुटिनले भने।

रुस आफ्नो सम्मानमा कसैसँग सम्झौता नगर्ने र कसैसँग नझुक्नेसमेत उनले बताए। उनले किभसँग कुनै शक्ति नभएको बरु त्यहाँका मानिसहरु रुस आएर अहिलेको दुःख निवारण गरिदिए हुने आशमा रहेको दावी गरे।

युद्धबाट समस्याको समाधान ननिक्लने उल्लेख गर्दै पुटिनले वार्तामै जोड गरे। तर वार्तामा दबाउने शैली अपनाए रुस नझुक्ने तर्क उनको रह्यो। रुसको अबको टार्गेट डनबस क्षेत्र हुनेसमेत बताएका छन्।

रुस र युक्रेनको युद्ध स्थानीय मुद्दा भए पनि अमेरिका र पश्चिमी शक्ति राष्ट्रहरुले विश्वव्यापी मुद्दा बनाइदिएको उनको आरोप थियो। अमेरिकाले आफूहरुलाई जहिल्यै ‘इग्नोर’ गर्ने गरेको उल्लेख गर्दै पुटिनले रुसलाई नजरअन्दाज गर्दा अप्ठेरो हुनसक्ने जिकिर गरे।

सोमवारमात्र अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका थिए। अचानक बाइडेन किभ पुगेपछि युक्रेनका राष्ट्रपति भ्लोदमिर जेलेन्स्की हौसिएका थिए। शनिवार पोल्यान्ड पुगेका बाइडेन ट्रेनमार्फत किभ पुगेका थिए। बाइडेन अहिले पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडासँग भेटघाटमा व्यस्त छन्। 
 

विशेष