जलेर घाईते भएका चन्द्र भण्डारीले दोहोरो संवाद गर्न थाले
खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीले मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।
गत बुधबार ग्यास सिलिन्डर चुहिएर आगलागी भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो ।
घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका हुन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।
सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ। कल्चर रिपोर्ट आज आउदै छ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ।
सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।