News

बर्खास्तमा पर्ने डरले राजिनामा दिदै डिआईजी अशोक सिंह

बर्खास्तमा पर्ने डरले राजिनामा दिदै डिआईजी अशोक सिंह

किर्ते गरी उमेर घटवढ गरेको आरोपमा बर्खास्तमा पर्ने अवस्था आएपछि डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। प्रहरी नियमावली अनुसार उनलाई बर्खास्त गर्न सक्ने भएकाले त्यसअघि नै सिंहले राजीनामा दिने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

उनले यो विषय प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई जानकारी समेत गराइसकेका छन्। पारिवारिक स्रोतका अनुसार त्यसअघि उनले कानुनी परामर्श समेत गरेका थिए। राजीनामा दिँदा नै उचित हुने सल्लाह पछि उनले बुधबार राजीनामा दिन लागेका हुन्।

सिंहको जन्म मिति फरक फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानामा सोधेको थियो।

किताव खानाले बुधबार अशोक सिंहको जन्ममिति खुल्ने कागजात पठाउने तयारी गरेको छ। तर ती कागजात जानुअघि नै सिंह भने राजीनामा दिने तयारीमा लागेका हुन्।

उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो। नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए। तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो। 

२०५० मंसिरमा उनले आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए। तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ। यो जन्म मिति अनुसार भने उनी २५ वर्ष पुग्न एक महिना बाँकी थियो। प्रहरी नियमावली २०७१ मा जन्म मितिको बारेमा उल्लेख छ।

सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो। तर अर्को प्रमाण पत्रमा पूरा जन्म मिति भएको अवस्थामा त्यसलाई आधार मान्ने उल्लेख छ। यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको हुनु पर्नेछ। एक वर्षभन्दा बढीको उमेर अन्तर भएमा भने जुनमा उमेर बढी छ सोहीलाई आधार मान्ने उल्लेख छ। 

सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनु पर्ने हो। एसपी र एसएसपीको उमेर हद ५५ वर्षे छ। एसएसपी हुँदै उनी ५६ वर्ष पुगिसकेका थिए। नागरिकता अनुसार जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका सिंह गत असारमा डीआईजीमा बढुवा भएका थिए। 

यो पनि

विशेष