भावी राष्ट्रपति माधव नेपाल की रामचन्द्र पौडेल ?
![भावी राष्ट्रपति माधव नेपाल की रामचन्द्र पौडेल ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/madhavramchandra.jpg)
राष्ट्रपति निर्वाचन नजिक हुँदै गर्दा नेताहरुको छटपटि वढेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई भ्याइनभ्याई छ । सोमबार साँझ माओवादी केन्द्रको बैठकमा जुनसुकै उम्मेदवार उठाए पनि त्यसबारे दाहालले एक्लैले निर्णय गर्ने सहमति भएपछि उनलाई थप भार वढेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मात्रै दाहाललाई १० पुसको सहमति सम्झाउँदै त्यो दिनका साक्षी बसेका रविको नाम लिएका थिए । कांग्रेससँगको गठबन्धन त्यागेर बालकोट पुगेका दाहाललाई प्रधानमन्त्री दिनेगरी एमालेले राष्ट्रपति लिएको थियो ।
७९ सिटको पार्टीलाई मुख्य संवैधानिक पद छाड्न तयार हुँदै गर्दा ३२ सिटको माओवादी केन्द्रका प्रमुख दाहालले सभामुखमा एमाले र माओवादीबीच आलोपालो हुनुपर्ने शर्त राखेका थिए । यी सबै दृश्य देख्ने रवि लामिछाने सोमवार विहानै प्रधानमन्त्रीलाई भेटन पुगेका थिए।
त्यो दिन प्रधानमन्त्री माओवादी केन्द्रले, राष्ट्रपति एमालेले पाउने सहमति भएको तर सहमति पनि चरण–चरणमा भएको उनले वताए। तर, उनको भनाई अनुसार अब राष्ट्रपति एमालेको भागमा छैन भन्ने प्रष्ट वुझ्न सकिन्छ।
राष्ट्रपतिमा अरु कोही आउन सक्ने संकेत गर्दै उनले यसैका कारण हालको गठबन्धन भने नटुट्ने दाबी गरे । रविका केही माग सम्वोधन गर्न प्रधानमन्त्री तयार भए उनले पनि दाहालले भनेकै उम्मेदवारलाई समर्थन गर्ने देखिएको छ। वालुवाटार स्रोतका अनुसार उनको माग ‘व्यक्तिगत खालका’ छन्।
रवि पछि दाहालले एमाले उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरेका थिए। बालुवाटार निस्कने क्रममा रवि खुसी हुँदै र विष्णु पौडेल दुःखी हुँदै निस्केको श्रोतको दावी छ। त्यसपछि दाहाले दिउँसो कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक डाकेका थिए । तर एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले छुट्टै भेट्न खोजेपछि उनले त्यो बैठक तत्काल रोके । अनि प्रधानमन्त्री कार्यालयबाट निस्केर त्यसैको नजिक रहेको माओवादी केन्द्रको संसदीय दल कार्यालय पसे ।
अरु बेला स्थान, नाम, पात्रमा हदैसम्म खोजीनीति राख्ने माधव नेपाल दाहाललाई भेट्न प्रधानमन्त्री कार्यालय या निवास नभई माओवादी कार्यालयमा पुग्नु आफैंमा अर्थपूर्ण छ। जुन बेला दाहालले राष्ट्रपति बनिदिन आग्रह गरेका थिए, त्यस बेला माधव तयार भएनन् । हिजोआज माधव ‘तयार हुन’ तयार छन् । त्यसपछि कास्की पुगेका दाहाले बाह्रबुँदेका सहमतिकर्ता राष्ट्रपति बन्न सक्ने सन्देश दिए।
यता केही नेताहरुसँग दाहाले गरेको कुराकानी अनुसार ओलीको इसारामा दुर्गा प्रसाईले राजावादी गतिविधि गरेको हुन सक्ने आशंका गरेका छन् । त्यस समेतलाई देखाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने आफ्नो कोशिसको औचित्य पुष्टि गर्न उनले खोजेको नेपाल वताउँछन् । दाहालले बालुवाटारमा भेट्न आएका कांग्रेस नेताहरुकहाँ एमालेको तर्फबाट माधव नेपाल उम्मेदवार बन्न सक्ने चर्चा सुनेको भनी नयाँ सूचना छिराएका थिए ।
लामो सहकार्य र तिक्त प्रतिद्वन्द्विता गरेका ओलीले नै माधवलाई राष्ट्रपति उठ्न आग्रह गरेको भनी चलेका चर्चाबारे उनले घुमाउरो पारामा अहिले केही भन्न नसक्ने वताएका छन् । तर, नेपाली कांग्रेस कुनै हालतमा राष्ट्रपति आफनो हुने गरी अघि वढेको छ। सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेललाई कसैगरी राष्ट्रपति बनाउन चाहान्छन्। यही प्रस्तावसहित उनी दौडधुपमा सक्रिय छन् ।
जनता समाजवादी पार्टीका एक नेताका अनुसार प्रधानमन्त्री र देउवा दुवैजना रामचन्द्रलाई राष्ट्रपति बनाउन तयार भएका छन्। स्रोतका अनुसार दाहाललाई एमालेको ७९ मत भन्दा कांग्रेसको ८९ ‘मतभार’ महंगो भइरहेको छ । उनले आफ्नो अभिव्यक्तिमा बदलाव ल्याएर कांग्रेससँग नजिक भएको धेरै संकेत दिएका छन्।
अव दाहाल जता उभिन्छन्, त्यतै राष्ट्रपतिको पल्ला भारी हुने पक्कापक्की देखिन्छ । त्यसैले ओली दाहालसँग छलफलमा हुँदा दोस्रो तहका एमाले नेताहरु माधव नेपालसँग सम्वाद गरिरहेका छन्। माधव नेपालसँग संवादमा रहेका भनिएकामध्ये एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेबाटै राष्ट्रपति उम्मेदवार प्रस्ताव हुने दाबी गरे ।
उनी आफैं भने एमाले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्तावसहित सक्रिय छन् । ओली भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति वनाउने योजनामा देखिएका छन्। तर, ओलीले माधव नेपालको नाम ल्याए भने अर्को अवस्था श्रृजना हुन सक्ने एमालेका नेताहरु वताउँछन।