News

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

बलात्कार आरोप लागेपछि पुर्पक्षका लागि कारागारमा रहेर उच्च अदालतको आदेशले धरौटीमा रिहा भएका सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । उनलाई साढे तीन महिना निलम्बनमा राखिएको थियो। निलम्वन फुकुवा भएसँगै उनलाई राष्ट्रिय टिममा समावेश गरिएको छ।

राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए ।

‘सन्दीप हाम्रो योजनामा रहेको क्रिकेटर हो । उनलाई आज साँझदेखि क्याम्पमा सहभागी हुन भनेका छौं,’ चौधरीले भने, ‘सन्दीपको क्षमताको बारेमा त सायद कसैलाई शंका हुने छैन । फिटनेस र फिजियो चाहीँ हेर्नुपर्छ ।’

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । अव उनी कीर्तिपुरमा पुगेर अभ्यास थालेका छन्।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।

जघन्य फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा समावेश गरेको छ ।
 

विशेष