News

लागु औषध कारोवारमा जोडिएपछि कैलालीका जेलरसहित ३० प्रहरीको जिम्मेवारी खोसियो

लागु औषध कारोवारमा जोडिएपछि कैलालीका जेलरसहित ३० प्रहरीको जिम्मेवारी खोसियो

कैलाली कारागार सुरक्षार्थ खटिएका प्रहरी प्रमुख र जेलरको मिलेमतोमा लागु औषध कारोवार हुने गरेको गुनासोपछि ३० जना प्रहरीको जिम्मेवारी खोसिएको छ । कारागारका जेलर नरबहादुर थापाको पनि सरुवा प्रक्रिया अघि बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कारागार सुरक्षार्थ खटिएका प्रहरी प्रमुख सई बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको जनाईएको छ। सहायक सिडिओ यज्ञराज जोशीले कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको जानकारी दिए । जेलर पनि नयाँ पठाउने प्रक्रिया अघि बढेको छ।

‘जेलर र सुरक्षाकर्मीको विषयमा लागुऔषध कारोबार जस्ता विषयमा प्रश्न उठेपछि जिम्मेवारी हेरफेर गरिएको हो। प्रहरीतर्फको प्रमुख फेरिएका छन् । जेलरलाई पनि परिवर्तन गर्ने प्रक्रिया अघि बढेको छ’ जोशीले भने–‘भोलिसम्म मन्त्रालयले अर्को व्यक्ति पठाउँछ होला ।’

गत कात्तिकमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवलदार अपिल भाटलाई पक्राउ गरिएको थियो। भाट अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय लागुऔषध कारोबार र सेवन सम्बन्धीको प्रकरण पूरानै भएको बताउदै अहिले नियमित कार्यतालिकाअनुसार सुरक्षाकर्मी हेरफेर गरेको दाबी गरेको छ । 
 

विशेष