News

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति, आइतवार दुवै रिटमा सुनुवाइ

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति, आइतवार दुवै रिटमा सुनुवाइ

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति, आइतवार दुवै रिटमा सुनुवाइ
सन्दीप लामिछानेले विदेश भ्रमणमा जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जाने अनुमति दिन अस्विकार गरेको छ। साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो। 

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ। 

सुनुवाइको पालो आउनासाथ अधिवक्ता मुरारी सापकोटाले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको भन्दै लामिछानेलाई नेपालमा क्रिकेट खेल्न रोक नलगाइएकाले विदेश जान अनुमति दिनुपर्ने तर्क गरे ।

त्यसपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले सन्दीपका लागि अरु विषयमा नभएर क्रिकेट खेल्नकै लागि अनुमति माग गरिएको बताए । वरिष्ठ अधिवक्ता थापापछि अधिवक्ता सरोजकृष्ण घिमिरेले समयसीमा र जरुरीले गर्दा लामिछानेलाई छोटो समयभित्र विदेश जान अनुमति दिनुपर्ने बताए । नियमित प्रक्रियाबाट त्यो सम्भव नहुने भएकाले छुट्टै अनुमतिको माग गरिएको पनि स्पष्ट पारे । 

उनले नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर विनोद दासलाई देखाए र बोल्न आग्रह गरे । इजलासको अन्तिमतिर बसेका उनी उठे र भने, ‘क्यानको व्यवस्थापनले उहाँको यात्रा तय गर्छ, दुबई पुग्नासाथ पासपोर्ट लिन्छौं र खेल्न बाहेक अरु केही गर्न पाउँदैन । सुरक्षित रुपमा लिएर आउने जिम्मा हामी लिन्छौं ।’

सोमबारदेखि युएईको दुबईमा हुने त्रिकोणात्मक सिरिज नेपाली टिमले सन्दीपबिनै खेल्नेछ। त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले ४ खेल खेल्नेछ। त्यसपछि कीर्तिपुरमा हुने ४ खेल भने सन्दीपले खेल्न पाउनेछन्। 

यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका ४ खेलमा सन्दीप पनि सहभागी थिए। उनी उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। सन्दीपमाथिको प्रतिबन्ध हटाइदिन क्यानले पनि अपिल गरेको थियो। 

तर न्यायाधीश खतिवडाले इजलासबाट सन्दीपको क्रिकेट करिअर अघि बढोस् भन्ने चाहे पनि कतिपय अफ्ठ्यारा रहेका बताएका थिए। बहसका क्रममा सन्दीपविरुद्ध दुईतिर मुद्दा चलिरहेको अवस्थामा जोखिम मोलेर विदेश जान अनुमति दिने विषय गम्भीर भएको तर्क गरेका थिए। 

सन्दीप लामिछाने

विशेष