News

चार दलको वालुवाटार वैठक अघि ओली–नेपाल आधा घण्टा ‘वान टु वान’ वार्ता

चार दलको वालुवाटार वैठक अघि ओली–नेपाल आधा घण्टा ‘वान टु वान’ वार्ता

नेपाली कांग्रेस नेतृत्वको पुरानो गठवन्धन ब्युँताउने वालुवाटारको निर्णायक वैठक अघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालबीच भेटबार्ता भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर निस्किएका ओली र नेपालबीच महाराजगन्जमा भेटबार्ता भएको हो । दुवै नेताहरुबीच करिव आधा घण्टा छलफल भएको स्रोतले जनाएको छ। ओलीसँगको भेटवार्तापछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

गत आइतबार पनि दुवै नेताहरुबीच महाराजगन्जमै बैठक भएको थियो । भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । त्यसपछि नेपालले विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा छलफल समेत चलाउँदै आएका थिए । शुक्रबार बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहासँग नेकपा एमालेका अध्यक्ष ओलीको वार्ता सकिएलगत्तै नेपाली कांग्रेससहित चार दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन् । ओली र दाहालको भेटमा ओलीले पुस १० गतेको सहमति पालना गर्न तथा राष्ट्रपतिमा एमालेलाई सघाउन आग्रह गरेका थिए । तर, उक्त छलफल निस्कर्षमा नपुगेको जनाईएको छ।

ओली निस्किए लगत्तै कांग्रेसका महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री दाहालसँग वार्ताका लागि बालुवाटार पुगेका हुन् । बैठकमा सहभागी हुन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरु समेत बालुवाटार पुगेका छन् ।

गत मंसिर ४ को निर्वाचनअघि एउटै गठबन्धनमा रहेका यी चार दल अब राष्ट्रपति निर्वाचनमा फेरि एक ढिक्का हुनेबारे छलफलमा छन् । शुक्रबार बिहानमात्रै चार घन्टासम्म छलफल गरेका नेताहरुले अहिले साँझ बस्ने बैठकबाट राष्ट्रपतिमा साझा उम्मेदवार तय हुने बताएका छन् ।

शुक्रबार विहानको छलफलपछि कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार साँझको बैठकबाट साझा उम्मेदवार तय गर्ने दाबी गरेका थिए । 
 

विशेष