News

यसरी हुँदैछ पाँच दलिय गठवन्धन ब्युँताउने कसरत

यसरी हुँदैछ पाँच दलिय गठवन्धन ब्युँताउने कसरत

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ दलिय गठबन्धन ब्युँताउने कसरत सुरु गरेका छन्। माओवादी, एकीकृत समाजवादी र जसपाले समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहँदा गठबन्धन नै ब्युँताउने प्रयास भएको हो।

राष्ट्रपति निर्वाचनको संघारमा आईपुग्दा कांग्रेस र राष्ट्रिय जनमोर्चासहितको पाँचदलीय गठबन्धन जगाउनु पर्ने नेताहरुले बताईरहेका छन्। राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने प्रयासमा नेताहरू छन्।

कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारी भईरहेको एक माओवादी नेताले वताए।

राष्ट्रपतिमा नेता नेपालको आकांक्षाका विषयमा माओवादी र जसपाले समेत शुक्रबार कांग्रेससँग वार्ता गर्दै छन । उपराष्ट्रपति भने जसपालाई दिने मोटामोटी समझदारी रहेको नेताहरूले जनाएका छन । यसो गर्दा उपेन्द्र यादव पनि सांसद वन्ने सम्भावना रहेको वताईन्छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल राष्ट्रपतिको दाबीबाट पछि हटिसकेका छैनन । उनले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गर्दै समर्थनको आग्रह गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनअघिसम्म कायम रहेको कांग्रेस नेतृत्वको गठबन्धन उम्मेदवारी भागबन्डामा असन्तुष्ट बनेपछि जसपाले तत्कालीन पाँचदलीय गठबन्धन छाडेको थियो । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी उक्त गठबन्धनमा मिसिएको थियो ।

माओवादी भने कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा अडान नछाडेपछि गत पुस १० मा गठबन्धन छाडेर एमालेसँग गठबन्धन गर्न पुगेको थियो। यो सत्ता समीकरण राष्ट्रपति निर्वाचनका कारण भत्किने अवस्थामा पुगेको छ ।

कांग्रेस सभापति देउवालाई बुधबार भेटेका जसपा अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री दाहालसँग बिहीबार छुट्टै वार्ता गरेका थिए । वार्तामा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । जसपाले उपराष्ट्रपति पदमा दाबी गर्दै आएको छ ।

बिहीबार साँझै प्रधानमन्त्री दाहालसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । उक्त भेटमा माओवादी, एकीकृत समाजवादी र जसपाका अन्य केही नेता पनि सहभागी थिए । भेटमा सहभागी एक नेताका अनुसार राष्ट्रपति पदमा नेपाललाई नै प्रस्ताव गर्ने समझदारी बनेको छ ।

यता, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच बिहीबारै बानेश्वरस्थित एक होटलमा भेटवार्ता भएको थियो । भेटमा पोखरेलले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।
 

विशेष