News

सन्दीप लामिछानेसँग हात मिलाएपछि प्रधानमन्त्री विवादमा, वलात्कारलाई प्रोत्साहन गरेको आरोप

सन्दीप लामिछानेसँग हात मिलाएपछि प्रधानमन्त्री विवादमा, वलात्कारलाई प्रोत्साहन गरेको आरोप

स्कटल्यान्डको टोलीले नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेसँग हात नमिलाएका कारण नेपालको अन्तर्राष्ट्रिय रुपमा वेईजत भएको आरोप लागिरहेका बेला देशका प्रधानमन्त्री पुष्पकमल दाहालले उनीसँग हात मिलाउँदै खुसियाली साटेका छन्।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले हासिल गरेको सफलताका लागि प्रधानमन्त्री दाहालले विहिवार सन्दीपसहितका खेलाडीलाई वधाई दिएका हुन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाली क्रिकेट टोलीलाई दाहाल युएईका लागि बिदा गर्न खादा, मालासहित तयार थिए ।

उनले प्रशिक्षक, खेलाडी र टिम व्यवस्थापकसँग पालैपालो हात मिलाउन थाले । खेलाडीको लहरमा नाबालिका बलात्कारसम्बन्धी मुद्दामा धरौटीमा जेलबाट छुटेका पूर्वकप्तान सन्दीप लामिछाने पनि थिए। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

उच्च अदालतबाट ५ सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ् नेपाल (क्यान) ले टिममा समावेश गरेपछि चौतर्फी आलोचना खेपेको थियो । बलात्कारजस्तो जघन्य अभियोग खेपिरहेका क्रिकेटर सन्दीपलाई मुद्दा फैसलापूर्व नै टिममा सहभागि गराएको भन्दै आलोचना भईरहेका वेला प्रधानमन्त्री जस्तो मुलुकको प्रमुख कार्यकारी समेत संवेदनशील नदेखिएको भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको तस्वीर चर्चामा आएको छ । धेरैले यसमा दाहालको असंवेदनशीलता र गल्ती देखिएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्रीले हिंसालाई प्रोत्साहन गरेको भन्दै उनी आलोचित छन्।

प्रधानमन्त्रीको सचिवालयले भने समूहलाई नै बधाई तथा बिदाइ गर्ने क्रममा सोही टोलीको एक सदस्य पर्न गएको जनाएको छ। त्रिवि क्रिकेट मैदानमा ९ फागुनको खेलपछि स्कटल्यान्डको टोलीले नेपाली टोलीसँग हात मिलाउने क्रममा सन्दीपसँग हात मिलाएको थिएन ।
 

सन्दीप लामिछाने

विशेष