News विदेश

पाकिस्तानमा देखियो बिआरआईको नतिजा, प्रधानमन्त्रीकै रुवाबासी

पाकिस्तानमा देखियो बिआरआईको नतिजा, प्रधानमन्त्रीकै रुवाबासी

चीनको महत्वकांक्षी परियोजना विआरआई अन्तर्गत ठुलो लगानी रहेको पाकिस्तान टाट पल्टिने अवस्थामा पुगेको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बुधवार राति सरकारी खर्च कटौतीको ठूलो घोषणा गरेका छन्।

केबल ३ अर्ब डलर मात्रै विदेशी मुद्रा सञ्चित रहेपछि टाट पल्टिने बिन्दुमा पुगिसकेको देशलाई बचाउन प्रधानमन्त्री शरिफले अन्तिम पहल थालेका हुन्। उनले बुधवार राति सरकारी खर्चमा व्यापक कटौतीसम्बन्धी घोषणा गरेका छन्। 

‘मसहित मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले तलब लिने छैनौँ। तमाम केन्द्रीय मन्त्री बिजुली, पानी, ग्यास र टेलिफोनको बिल गोजीबाट भर्नेछन’, उनले घोषणामा भनेका छन्। शरिफका अनुसार मन्त्रीहरुसँग रहेका सबै लग्जरी गाडी पनि लिलाम गरिनेछ। सर्वोच्च अदालत, उच्च अदालत र कर्मचारी क्षेत्रलाई पनि खर्च कटौतीका लागि सरकारले अपिल गरेको छ।

अचम्म लाग्दो कुरा भने प्रधानमन्त्री शरिफले पाकिस्तान स्वतन्त्र भएयता अहिलेसम्मको ७६ वर्षमा आधा समय देशको शासन चलाएको सेनाको खर्च कटतीबारे केही पनि बोलेका छैनन्। पाकिस्तानी सेनासँग देशको अर्बौँ बजेट रहेको छ।

क्याबिनेटका सदस्यहरुलाई राखेर पत्रकार सम्मेलन गरेका उनले भनेका छन्–‘अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्त पूरा गर्नका लागि सरकारी खर्चमा ठूलो कटौती गरिँदैछ। यो आमजनताका लागि पनि सन्देश हो। यो खर्चमा कमी गर्ने एक उपाय हो।’

शरिफले सरकारको खर्च कम गर्न करदाताको लाखौँ रुपैयाँ बचाउने योजना पनि सुनाए। यसका लागि तमाम कदम उठाइने उनले जानकारी दिए। शरिफले कसैको दबाबमा नपरी आफूले यो निर्णय गरेको पनि बताएका छन्।

अन्तराष्ट्रिय सम्वन्धका जानकारहरुले पाकिस्तानमा विआरआई परियोजनाका नतिजाहरु देखिन थालेको बताएका छन् । पाकिस्तानका लागि चीन पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो। पाकिस्तानमा चीनको ठूलो लगानी छ। दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन् भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)’लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानले सहकार्य गरेका छन्। 

विआरआई अन्तर्गत चीनले अन्य देशलाई ऋण लगानी गर्ने गरेको छ। जसको ब्याज अन्य देशको तुलनामा महंगो हुने गरेको वताईन्छ। चीनको ऋण लिने राष्ट्रहरु साँवा र ब्याज तिर्न नसकेर टाट पल्टिने गरेको जानकारहरुको भनाई छ। 
 

बिआरआई

विशेष