वालुवाटार वैठकपछि राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो
आज विहान वसेको पाँच दलिय (चुनाव अघिको पुरानो गठबन्धन) गठबन्धन वैठकपछि राष्ट्रपतिमा नेपाली कांग्रेसको सम्भावना वलियो बनेको छ। गठबन्धभित्रका चार दल राष्ट्रपति र उपपराष्ट्रपतिबारे सहमति नजिक पुगेका छन् ।
उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।
राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो । राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसले प्रस्ताव गरेको छ ।
कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन् ।
बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले दुवै पक्षबाट फरक–फरक प्रस्ताव आए पनि शुक्रबार साँझसम्म एउटै निर्णयमा पुग्ने समझदारी कायम भएको बताए । बैठकका बारेमा जानकारी दिँदै उनले भने, ‘कांग्रेसले राष्ट्रपतिमा आफ्नै उम्मेदवार प्रस्ताव गरेको छ । कांग्रेसबाहेकका दलले पनि उम्मेदवारको नाम अघि सार्नु भएको छ । तर हामी एउटा टुंगोमा पुग्ने भन्ने समझदारी भएको छ तर त्यसअघि आ–आफ्ना पार्टीमा छलफल गर्छौं ।’
लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई पनि शुक्रबार साँझ बस्ने बैठकमा सहभागी गराइने बताइएको छ । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो ।
गठबन्धन