News

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निर्णायक भेटवार्ता जारी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निर्णायक भेटवार्ता जारी

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेता छलफलमा वसेका छन्।

उनीहरूबीच राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भईरहेको छ। अध्यक्ष ओलीले बालुवाटार जानुअघि संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने बताएका थिए। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ।

नेपाली कांग्रेससहित दलले भने चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन्। प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेसँग बेग्लाबेग्लै छलफल गर्ने बताएका थिए। बिहान कांग्रेसलगायत दलसँग छलफल गरेका प्रधानमन्त्री दाहालले दिउँसो बालुवाटारमै अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।

गत पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा एमाले छ। अध्यक्ष ओलीले पनि राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने कुरा पुस १० मै टुंगो लगाइसकिएको बताए।

यता, शुक्रबार बिहानमात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो । 
 

विशेष