नेपालको लगातार दोस्रो जित, कुवेत २४३ रनले पराजित
आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले शनिबार कुवेतविरुद्ध २ सय ४३ रनको फराकिलो जित निकालेको छ।
नेपालले शुक्रबार सिंगापुरमाथि ९६ रनको सानदार जित निकालेको थियो। आज नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा १ सय रनमै समेटियो। कुवेतलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ६, हेमन्त धामी र दिपेश कँडेलले २÷२ विकेट लिए।
युएईको मलेक क्रिकेट ग्राउन्डमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बिस्फोटक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो। नेपालका लागि अर्जुन कुमाल र देब खनालले सानदार शतकीय पारी खेले।
खनालले सर्वाधिक १ सय २५ रनको योगदान गर्दा अर्जुन कुमालले १ सय ८ रन जोडे। १ सय १७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्का प्रहार गरे। १ सय १२ बलको सामना गरेका कुमालले १२ चौका प्रहार गरे।
विशालबिक्रम केसीले २३ तथा दीपक प्रसाद डुम्रे २० रनमा अविजित रहे। बलिङतर्फ कुवेतका अर्श साहिल काजमी र हेनरी थोमसले समान २÷२ विकेट लिएका थिए ।
जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ।