News

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ भन्छन्– राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ भन्छन्– राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ

नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् । पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले यस्तो बताएका हुन।

पूर्व सभामुख नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर आफुले संविधान जारी गर्न भूमिका खेलेको बताए । त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ ।’

अझै विश्वास छ भन्ने प्रश्नमा उनले भने, ‘विश्वास छ र त उठिराखेको छु । अहिलेसम्म उम्मेदवारी दर्ता गर्न कोही आउनुभएको छैन । आउनुभएछ भने पनि सम्मान छ ।’ प्रतिस्पर्धा भए त्यसको परिणामलाई स्वीकार गरेर अघि बढ्ने समेत उनले बताएका छन् ।

नेम्वाङको मनोनयनको प्रस्तावकमा पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्कर्मा रहेका छन् । समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन् ।

ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनको भनाई छ।

नेम्वाङ उम्मेदवार हुने १० पुसमा सरकार गठनकै बेला टुंगो लागिसकेको, तर डिस्क्लोज मात्र नगरेको ओलीको दाबी छ । एउटा चक्र पूरा नगरी १० पुसमा भएको सहमति यताउता हुन नसक्ने भन्दै उनले अगाडि भने, ‘यसमा सहमत सबै पक्षले आफ्नो कमिटमेन्ट पूरा गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं । आफ्नो बचनबाट कोही पनि पछि हट्ने काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।’

दलले नयाँ गठबन्धन बनाइसके नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले बोलाएर केही नेताहरु बसेको उनले बताए । ‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डजीले कसरी भन्नुभयो, त्यो उहाँको कुरा हो,’ उनले भने, ‘गठबन्धन पनि छैन, गठबन्धनको निर्णय केही छैन ।’

कांग्रेसलाई समर्थन गर्ने भनेर कुन दलले वक्तव्य दिएको छ भन्ने प्रश्न गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘कहीँ बिग्रिएको छैन । २५ गते थाहा पाउनुहुन्छ ।’ 
 

सुवासचन्द्र नेम्वाङ

विशेष