News

उपेन्द्रलाई संसद छिराउन सहज हुने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै जसपा

उपेन्द्रलाई संसद छिराउन सहज हुने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै जसपा

नेपाली कांग्रेस नेतृत्वको ८ दलिय गवन्धनको भागवण्डामा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारको खोजी सुरु भएको छ। 

उपराष्ट्रपतिको उम्मेदवार वन्ने नेताको क्षेत्रबाट उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउनु पर्ने पनि पर्ने भएकाले उम्मेदवारसहित सहज स्थलको खोजी समेत सुरु भएको हो। जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ । यस्तै दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा छ ।

पार्टीबाहेकका व्यक्तिहरुले पनि चासो लिइरहेका छन् । तर सांसदमध्ये नै एकजना कसैलाई राजीनामा दिन लगाएर उपराष्ट्रपति बनाउने तयारी जसपाको रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव हारेको र उपनिर्वाचनमार्फत संसद छिर्ने दाउमा छन् । त्यसैले पार्टी वाहिरबाट उम्मेदवार वन्ने सम्भावना एकदमै न्यून छ।

सोहीअनुसार सांसदलाई उपराष्ट्रपति बनाउने र सो ठाउँमा उपनिर्वाचन हुँदा उम्मेदवार बनेर फेरि संसद छिर्ने यादवको रणनीति छ । यादवका लागि सबभन्दा सहज बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउँदा हुने देखिन्छ । अरु क्षेत्रभन्दा यादवलाई बारा २ बाट चुनाव जित्न पनि सजिलो हुने र रामसहाय यादवलाई राजिनामा पनि गराउन सजिलो हुने भएकाले पार्टीमा त्यही विषयमा छलफल भइरहेको हो । 

जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले यसबारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए । सो पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले उपराष्ट्रपति जसपाले पाउने निश्चित भएको बताए ।  तर पार्टीको तर्फबाट को उम्मेदवार बन्ने अहिले टुंगो नलागेको उनको भनाइ छ।

फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ । त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुपर्ने हुन्छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुनेछ । जसपाका अर्का कार्यकारिणी सदस्य रकम चेम्जोङले उपराष्ट्रपतिको विषयमा छलफल सुरु नभएपनि पार्टीले सर्वसम्मतिबाट यो विषयलाई टुग्यांउने बताए । पार्टीमा जसको नाममा सहमति बन्छ, उसैलाई सबैले स्वीकार गर्नुपर्ने उनले बताए । 
 

विशेष