राष्ट्रपतिमा पौडेल र नेम्वाङ कस्को पल्ला भारी ? यस्तो छ हिसाव
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ। राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुने छ।
संवैधानिक व्यवस्थाअनुसार दुवै जनाले पाँच–पाँच जनता प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन्। पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो.अब्दुल खान छन्।
यस्तै, समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे रहेका छन्।
नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ।
राष्ट्रपतिका उम्मेदवार पौडेल प्रतिनिधिसभाका र नेम्वाङ संविधानसभाका पूर्वसभामुख हुन्। पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुखको भूमिकामा थिए भने नेम्वाङ २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधानसभाको पहिलो कार्यकाल र २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुखको जिम्मेवारीमा थिए।
कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
एमाले उम्मेदवार नेम्वाङको समर्थनमा भने अरु कुनै पनि दल खुलेका छैनन्। यद्यपि, कांग्रेसको समर्थनमा नदेखिएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उनलाई मत दिन सक्ने अनुमान गरिएको छ।
राष्ट्रपतिमा पौडेल चुनिएलान् कि नेम्वाङ ? यस्तो छ गणित
अहिलेकै समीकरणअनुसार राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित छ । तर तत्काल सरकार नछोड्ने निर्णय गरेको एमालेले टाढिएका दललाई फर्काउन संवादको ढोका खुल्लै राखेको छ । दलहरूको अस्थिर चरित्रका कारण अन्तिसम्म को कतातिर पुग्छन् भनेर अनुमान लाउन कठिन छ।
शुक्रवारको सहमतिअनुसार कांग्रेस, माओवादी, जसपा, नागरिक उन्मुक्ति, जनमत, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाको कुल ३१ हजार ९ सय १७ मत पौडेलसँग छ। कांग्रेससँग १६ हजार १ सय ४२, माओवादी केन्द्रसँग ७ हजार ७ सय ४५ मतभार छ । यसैगरी नेकपा एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जनता समाजवादीसँग २ हजार १ सय ४५, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९ सय ७१ मत छ । यस्तै नागरिक उन्मुक्ति पार्टीसँग ८ सय ९२ र जनमोर्चा २ सय ६ मतभार छ । यी सबै पार्टीले मत दिएको अवस्थामा पौडेलको जित पक्का छ ।
आजै सरकार छाड्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई सघाउने निश्चित छ । तर राप्रपा र रास्वपा दुवैले साथ दिँदा पनि नेम्वाङले जित्दैनन् । जितका लागि कांग्रेसतिर लागेको माओवादी वा अन्य साना दललाई एमालेले आफूतिर तान्नुपर्ने हुन्छ ।
एमालेसँग १५ हजार २ सय ३३ मतभार छ भने राप्रपासँग २ हजार ४ सय ५० र राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १ मतभार छ । कतै पनि नखुलेको नेपाल मजदुर किसान पार्टीको २ सय २३ र स्वतन्त्र सांसदहरूको १ सय ९४ मतभार छ । यी सबैको जोड्दा १९ हजार ६ सय मतभार हुन्छ, जुन जितका लागि पर्याप्त होइन ।
अहिले प्रतिनिधिसभामा एउटा सिट रिक्त छ । चितवन– २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएकाले कुल ३ सय ३३ सांसदले भोट हाल्न पाउँछन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा संघीय संसदमा ३ सय ३१ र प्रदेशमा ५५० सदस्य छन् । तर, निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भइसकेको छ भने फरार सांसद लक्ष्मी कोइरीले पनि भोट हाल्न पाउँदा कुल ३ सय ३३ जना मतदाता हुनेछन् । जित्नका लागि २६ हजार ३ सय ५४ मत हासिल गर्नैपर्ने हुन्छ ।
संघीय सांसद एक जनाको मतभार ७९ हुँदा कुल २६ हजार ३ सय ७ मत हुन्छ । यसैगरी प्रदेश सांसद एक जनाको मतभार ४८ हुँदा कुल २६ हजार ४ सय हुन्छ । यसरी दुवै सदनका गरी कुल ५२ हजार ७ सय ७ मत हुनेछ । यो संख्याबाट बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत हासिल गर्ने उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुनेछ ।