News

पार्टी छोडेका नेतालाई ओलीको ब्यंग्यः टुप्पाको पात भएपनि झरेपछि त्यो मल नै हुन्छ

पार्टी छोडेका नेतालाई ओलीको ब्यंग्यः टुप्पाको पात भएपनि झरेपछि त्यो मल नै हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी छाडेर जाने शीर्ष नेताहरूलाई पिलोको संज्ञा दिएका छन्। आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने– ‘पिलो निचोर्दैमा ओजन घट्दैन।’

ओलीले ‘टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो’ भन्दै ‘को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’ भन्दै प्रतिक्रिया दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका उनले ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,’ भने। 

उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए ।

ओलीले चीनसँग सहकार्य गरेकोमा भारत रिसाएको संकेत गर्दै विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताए । ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु,’ उनले भने ।

‘उत्तरतिर बाटो थिएन मैले बाटो खोलिदिएँ,’ उनले भने, ‘सीमा मिचिएको थियो कोही बोल्न सकेको थिएन । म बोलेँ, नक्सा बनाएँ र त्यसलाई संविधानको अंश पनि बनाइदिएँ ।’ अरु सरकार भए संविधान नै संशोधन गरेर यस्तो काम गर्न नसक्ने उनको तर्क थियो । 
 

विशेष