News

‘भद्र सहमति’ मा अहिले नै आशंका, झस्किए माधव नेपाल

आलोपालो प्रधानमन्त्रीको समझदारीमा माओवादी र कांग्रेसले स्वामित्व लिएनन्

‘भद्र सहमति’ मा अहिले नै आशंका, झस्किए माधव नेपाल

राष्ट्रपति कांग्रेसलाई दिएर प्रधानमन्त्रीमा आलोपालो गर्ने ‘भद्र सहमति’ विपरित नयाँ गठवन्धनका नेताहरुले ‘अभद्र ब्यवहार’ देखाउन थालेका छन् । शिर्ष नेताहरुकै ब्यवहारका कारण उक्त समझदारीको भविष्यलाई लिएर अहिले नै आशंका उब्जिन थालेको छ ।

बालुवाटारमा गत शुक्रवार भएको ८ दलको वैठकले राष्ट्रपति कांग्रेसलाई दिने सहमति गरेको थियो भने तीन दलका प्रमुख नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने ‘भद्र सहमति’ भएको खबर बाहिरिएको थियो । 

त्यसबाहेक अर्को औपचारिक निर्णय केही भएको छैन । तर, आठ दलको बैठकपछि तीन दल (कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी) को शीर्ष नेतृत्वबीच अनौपचारिक छलफल भयो । सोही छलफलमा प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने भद्र समझदारी भएको स्रोतको दाबी छ ।

यही समझदारीपछि नेकपा एसका नेता माधवकुमार नेपाल राष्ट्रपतिको दावेदारीबाट पछि हटेका हुन। स्रोतका अनुसार प्रचण्ड २ वर्ष, माधव नेपाल १ वर्ष र त्यसपछि २ वर्ष देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ । तर, अहिले कांग्रेस र माओवादीले भने त्यस्तो सहमतिप्रति अनभिज्ञता प्रकट गर्न थालेका छन् ।

नेकपा एसका अध्यक्ष नेपालले भद्र सहमतिबारे पार्टीमा जानकारी गराए पनि अन्य दुई नेताले भने केही सीमित नेतालाई मात्रै बताएको बुझिएको छ । यणकाजी श्रेष्ठले आलोपालो प्रधानमन्त्रीको सहमतिबारे पार्टीलाई थाहा नभएको बताए भने महासचिव देव गुरुङले पनि आलोपालो प्रधानमन्त्रीको सहमतिबारे थाहा नभएको बताए ।

यता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको बताए । तर, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे भने शुक्रबार राति आलोपालो प्रधानमन्त्रीबारे भद्र सहमति भएको बताउँछन् । 

त्यस दिन बसेको आठ दलको बैठकमा पाण्डे पनि सहभागी थिए । उक्त बैठकमा पनि आलोपालो प्रधानमन्त्रीबारे छलफल भएको उनले उल्लेख गरे । नेकपा एसकै कतिपय नेता–कार्यकर्ता भने एमालेसँग २ महिनाअघि गरेको सहमति नमान्ने प्रचण्डले अढाई वर्षपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउलान् भनेर विश्वास गर्न नसकिने बताउँन थालिसकेका छन्।

माधव नेपाल

विशेष