News अपराध सुरक्षा

भुमाफियाद्वारा बालेन्द्रलाई मार्ने र घर जलाउने धम्की, किन मौन छ सुरक्षा निकाय ?

भुमाफियाद्वारा बालेन्द्रलाई मार्ने र घर जलाउने धम्की, किन मौन छ सुरक्षा निकाय ?

शनिवार सामाजिक सञ्जाल मार्फत ‘राजिनामा दिन दवाव आएको’ सार्वजनिक गरेका काठमाण्डौंका मेयर बालेन्द्र साहलाई ज्यान मार्ने धम्की समेत आएको उनी निकट स्रोतले जनाएको छ।

राजीनामाको कुरा सार्वजनिक भएपछि चौतर्फी बहस भईरहेका वेला ज्यान मार्ने र घर जलाउने धम्की समेत आएको खुलेको हो। बालेन्द्रको सचिवालयले ‘सही नियतले काम गर्न थाले पनि गिरोहहरुले चरणवद्ध रुपमा राजीनामा दिन दबाब दिएको’ जनाएको छ । 

सचिवालयका एक सदस्यका अनुसार पछिल्लो समय अवैध संरचना भत्काउने कामलाई अभियानकै रुपमा सञ्चालन गरिरहेका बेला सुकुम्बासी, व्यापारीलगायतका स्थानीयले भित्रभित्रै मेयर विरुद्धको अभियान चलाइरहेका छन् । 

तिनै मध्येबाट ज्यान मार्नेसम्मको धम्की आएको उनको भनाई छ। सोही कारण बालेन्द्रले आफूलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै करिब तीनमहिना पहिले नै गृह मन्त्रालयसँग सुरक्षा माग गरेको सचिवालयका सदस्यहरु बताउँछन्।

बालेन निकट कुमार व्यञ्जनकारका अनुसार अनधिकृत रुपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट राजीनामाको दबाब आइरहेको छ । ‘परिवारका सदस्य समेतलाई ज्यानको धम्की आएको छ। मानसिक यातना दिइएको छ । उहाँले धेरै अगाडि नै आफूलाई धम्की दिनेहरुविरुद्ध प्रहरीमा किटानी उजुरीसमेत गर्नुभएको थियो’ उनले भने, ‘तर, सरकार र प्रहरीले कुनै चासो नै दिएको छैन ।’

मेयरलाई मार्छु भनेर धम्की दिने नै प्रहरीको अघि–पछि हिँडिरहेको उनले आरोप लगाए। यसरी पटक पटक धम्की आउँदा पनि राज्यका सुरक्षा संयन्त्र मौन रहेकोप्रति बालेन्द्रको असन्तुष्टि रहेको उनले वताए । ‘यसको अर्थ के अब तँ पदमा नबस् भन्न खोजिएको होइन ?’– उनले भने।

अण्डरग्राउन्ड पार्किङमा डोजर चलाउने बेला व्यापारीले बालेन्द्रको चर्को विरोध गरेका थिए भने सुकुम्बासी बस्तीमाथि डोजर चलाउने प्रयास हुँदा उनलाई ज्यान मार्ने धम्की दिइएको थियो ।

बालेन्द्र साह

विशेष