शम्भु थापा भन्छन्– कसैले हात नमिलाउँदैमा सन्दीप लामिछाने दोषी हुँदैनन्
बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ भोलि पनि हुने भएको छ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा सुनुवाइ सुरू गरेको थियो। बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाउँदैमा क्रिकेटर सन्दीप लामिछाने दोषी नहुने बताएका छन् । सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा उनी दोषी नहुने जिकिर गरेका हुन् । ‘सन्दीपले राम्रो खेल खेले । उनको बलिङबाट स्कटल्याण्डका खेलाडी रिसाएका होलान’, इजलासमा थापाले भने, ‘हात नमिलाउँदैमा उनी दोषी हुँदैनन् श्रीमान ।’
केही दिनअघि काठमाडौँमा भएको खेलमा स्कटीस खेलाडीहरुले सन्दीप बलात्कारमा मुछिएको भन्दै हात मिलाएका थिएनन् । उनले बहसका क्रममा सन्दीपको भरपुर प्रतिरक्षा गरेका थिए । अहिले सरकारी र पीडित पक्षको बहस सकिएर सन्दीपका वकिलहरुले बहस गरेका थिए।
यस्तै पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।