उच्च अदालत पोखराले पल साहलाई दियो सफाई, भोली रिहा हुने

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।
उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।
उच्चको संयुक्त इजलासमा आइतबार बहस भएको थियो। बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए।
शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।
बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ।