News

एक वर्ष जेल वसिसकेका पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

एक वर्ष जेल वसिसकेका पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

बालिका बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ। उनले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालतमा रिट दिएका थिए।

जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ। ०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो।

त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए। पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो। तर फैसला नवलपुर अदालतले पहिले ग¥यो।

पल शाह तनहुँ कारागारमा जेल सजाय काटिरहेका छने। उनले बिहीबार मात्रै आफ्नो ३३औं जन्मदिन जेलमै मनाए ।

एक वर्षदेखि कारागारमा बन्दी जीवन बिताइरहेका पल शाह कैदीहरुसँग निकै घुलमिल भइसकेका छन् । तनहुँको अदालतले मुद्दामा सफाइ दिएपछि उनको मनोबल बढेको कारागार प्रशासनले जनाएको छ। 

कारागारभित्र पललाई अन्य बन्दीहरुभन्दा फरक व्यवहार गरिँदैन । कारगारको प्रावधानअनुसार सरकारको तर्फबाट अरु कैदीले जस्तै पलले पनि दैनिक ८० रुपैयाँ र ७०० ग्राम सिधा (चामल) पाउँछन् । कारागारले दिने सुविधा उपयोग गर्दै पलले ४ जना कैदीहरुसँग मिलेर छुट्टै मेस बनाएका छन् ।

कारागारमा आफ्नो व्यक्तिगत खर्चमा कानूनले दिनेभन्दा बाहेकका सुविधा लिन सकिने व्यवस्था पनि छ । त्यसअनुसार पलसहितका ४ कैदीले आफ्नो व्यक्तिगत खर्चबाट ग्यास, सिलिन्डर र भान्साका लागि चाहिने सरसामान जुटाएर अलग्गै पकाएर खाने गरेको वताईन्छ।

पलविरुद्ध जाहेरी दिएकी गायिका भने अहिलेसम्म उनलाई भेट्न कारागार पुगेकी छैनन् । अदालतमा उनीहरुको केही पटक जम्काभेट भएको छ । गायिकाले अदालतमा बयान फेर्दै पलमाथिको आरोप फिर्ता लिएकी थिइन् ।

पल शाहले अहिलेसम्म १ वर्ष जेल सजाय गुजारिसकेका छन् । यदि पुनरावेदनबाट उनको सजाय तलमाथि भएन भने थप डेढ वर्ष उनले जेलमा बिताउनुपर्ने हुन्छ । 

पल शाह

विशेष