News खेल

यू–१९ विश्वकप छनोटमा हङकङ ९ विकेटले पराजित, नेपालको लगातार तेस्रो जित

यू–१९ विश्वकप छनोटमा हङकङ ९ विकेटले पराजित, नेपालको लगातार तेस्रो जित

आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार तेस्रो जित हात पारेको छ। हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले तेस्रो जित हासिल गरेको हो ।

युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ दशमलव १ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए ।

छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे । २६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो ।

तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे । हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६ दशमलव ३ ओभरमा १२० रनमा अल आउट भएको थियो । हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए ।  मोहम्मद अलियान जाहिरले २९ रन बनाए ।

हङकङका लागि पाँचौं विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गरे ।

हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । आकाश चन्दले ८ दशमलव ३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । 
 

विशेष