फुलमाला र अविरसहित विदा भए पल शाह
उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार रिहा भएका नायक पल शाह भनिने पूर्णविक्रम शाहलाई तनहुँ कारागारबाट फुलमाला र अविर लगाएर विदा गरिएको छ।
तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर उनलाई विदाई गरिएको हो। नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए। आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए।
रिहा भएपछि उनी काठमाडौं पुगेका छने। सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते एक गायिकाले शाह विरुद्ध तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो।